
विराटनगर । प्रदेश १ का नौं स्थानमा उपनिर्वाचनको तयारी सुरु भएको छ । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेपछि तनि स्थानीय तह प्रमुख र ६ वडामा उपनिर्वाचनको तयारी सुरु भएको हो ।प्रदेश १ मा सुनसरीको धरान उपमहानगरपालिका ,पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिकामा प्रमुखको पद रिक्त छ । धरानकै वडा नम्बर(७, फिदिम नगरपालिका(वडा नम्बर १, हिलिहाङ गाउँपालिका(७, मोरङको धनपालथान गाउँपालिका(२ संखुवासभाको खाँदबारी गाउँपालिका(८ र खोटाङको सकेला गाउँपालिका(३ को वडा अध्यक्ष पद खाली छन् ।तत्कालीन नेकपा एमालेबाट निर्वाचित धरानका मेयर तारा सुब्बाको निमोनियाका कारण मृत्यु भएपछि धरान एक वर्षदेखि मेयरविहीन छ । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा गत माघमा मृत्यु भएको थियो । वि।सं। २०७४ साल पुस ३० गते जीप दुर्घटनामा परी खड्गबहादुर कटवालको मृत्यु भएको थियो ।तीन प्रमुख रिक्त रहेको स्थानमध्ये दुई नेकपा र एक कांग्रेसले चुनाव जितेको क्षेत्र हो । आठ स्थानीय तहमा नौं पदका लागि निर्वाचन तयारी सुरु भएपनि सबैको ध्यान धरान उपमहानगरपालिकाले तानेको छ । ठूलो स्थानीय तह भएका कारण धरानले ध्यान तानेको हो ।

सरकारप्रति अविश्वास

उपनिर्वाचनले सत्ताको नेतृत्व गरिरहेको नेकपाको वास्तविकता बाहिर ल्याउने राजनीतिक विश्लेषकहरु बताउँछन् । पार्टी एकीकरण गरी दुई तिहाइ मत पाएको नेकपा नेतृत्वको सरकार पछिल्लो गतिविधिका कारण आलोचित छ ।मंसिरमा हुने निर्वाचनले नेकपा शासनलाई जनताले विश्वास गरे नगरेको देखिने राजनीतिक विश्लेषक डाक्टर देवीबहादुर थापा बताउँछन् । प्रतिपक्षी दल पनि दह्रो रुपमा उभिन नसकेका कारण दुवै पक्षलाई सहज नभएको उनको भनाइ छ । ‘कम्युनिष्टप्रति जनताको हिजोको अपेक्षा र चाहना घटेर गयो,’ उनी भन्छन्, ‘तर प्रतिपक्ष पनि दह्रो छैन ।’ प्रतिपक्ष पनि कमजोर भएका कारण निर्वाचनमा तेस्रो विकल्प पनि अघि आउन सक्ने उनले अनुमान लगाए ।राजनीतिक विश्लेषक दिनेश श्रेष्ठ भने दुई ठूला दलप्रति विश्वास कम भएपनि पहाडी क्षेत्रका जनताका लागि तत्काल तेस्रो विकल्प नदेखिएको बताउँछन् । तराई मधेसमा भने मधेसवादी दल हाबी हुन सक्ने उनको अनुमान छ । तीन तहकै सरकारप्रति जनता सन्तुष्ट नभएको र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि आन्तरिक किचलोमा फसेका कारण राजनीतिप्रति वितृष्णा बढेको उनले बताए ।

धरानमा चार हजार मतदाता थपिए

स्थानीय तहको उपनिर्वाचनमा धरानमा करिब ४ हजार मतदाता थपिएका छन् । प्रतिनिधि तथा प्रदेशभा निर्वाचनमा धरानमा ८९ हजार ५ सय ४९ मतदाताको नामावली सार्बजनिक भएको थियो । मंसिरमा हुने निर्वाचनमा करिब ९३ हजार पाँचसय मतदाता रहने निर्वाचन कार्यालय सुनसरीका निमित प्रमुख अजयकुमार मिश्रले जानकारी दिए ।मिश्रका अनुसार साउन १६ गतेसम्म मतदाता नामावली संकलन भएको छ । अन्तिम मतदाता नामावली प्रकाशित हुँदा पहिलेको तुलनामा करिब ४ हजार मतदाता बढ्न सक्ने उनले बताए । मतदाता बढेका कारण उपनिर्वाचनमा मतदान केन्द्र पनि थपिनेछन् । मिश्रका अनुसार गत निर्वाचनमा २८ मतदान स्थल र ९८ मतदान केन्द्र थिए । यो पटक केही मतदान केन्द्र थप्ने तयारी भएको छ ।

