धरहरा नेपालको राजधानी काठमाडौंको सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो। वि।सं। १९९० भन्दा पहिला यसमा ११ तल्ला थियो यसको बार्दली नवौ तलमा रहेको थियो तर १९९० माघ २ मा आएको महाभुकम्पको कारणले बार्दली भन्दा माथीको १०-११ तला भत्किएको थियो र ९ तल्लाको रहेको थियो। पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भै इतिहास बन्न गयो । धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए।
उनले यसको निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाएका थिए। भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो ।