Aamsanchar

नेकपादेखि विवेकशीलसम्मले पुनः दल दर्ता गर्नुपर्ने

Author Image
सोमवार, भदौ १६, २०७६


काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा र समाजवादी पार्टी नेपालले आगामी उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ ।निर्वाचन पूर्व दलहरूले निर्वाचन आयोगमा दर्ता हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप एकीकृतपछि पहिलोपटक निर्वाचनमा जान लागेका यी दलहरूले आयोगमा दर्ता हुनुपर्ने भएको हो ।निर्वाचन आयोगका अनुसार २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा आयोगमा दर्ता भएका दलले उपनिर्वाचनको प्रयोजनका लागि पुनः दल दर्ता गर्नु पर्दैन । ती चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग दल र अलग चुनाव चिह्नसहित लडेकाले उपनिर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गनुपर्ने भएको हो । तत्कालीन एमाले र माओवादी केन्द्र निर्वाचनपछि एकीकृत भएर नेकपा बनेको थियो ।

नेकपा एकीकरणसँगै निर्वाचन आयोगमा दल दर्ता भए पनि चुनावी प्रयोजनका लागि पुनः दर्ता हुनुपर्ने नेकपा निर्वाचन विभागका उपप्रमुख खिमलाल देवकोटाले बताए ।नेकपाले यसअघि चुनावमा भाग नलिएकाले पुनः दल दर्ता हुनुपर्ने प्रावधानबारे आफूहरु जानकार रहेको उनले बताए । निर्वाचन आयोगले दल दर्ताका लागि सूचना प्रकाशित गरेकाले सोही अनुरूप अघि बढ्ने उनको भनाइ छ । नेकपाको चुनाव चिह्न भने सूर्य नै हुने बताइएको छ ।त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालले पनि पुनः दल दर्ता गर्नुपर्नेछ । ०७४ को निर्वाचनपछि यी दल एकीकृत बनेकाले पुनः दल दर्ता गर्नुपर्ने भएको हो ।यसबीचमा एकीकरण भएका राप्रपा संयुक्तले पनि पुनः दल दर्ता गराउनुपर्नेछ । त्यस्तै यसबीचमा बिभाजन भएका तत्कालीन साझा पार्टी र विवेकशील पार्टीले पनि उपनिर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्नेछ ।

दल दर्ताका लागि आयोगले भदौ मसान्तसम्मको समय दिएको छ । आवश्यक काजजातसहित निर्धारत समयभित्र इच्छुक दलले सम्पर्क गर्नुपर्नेछ ।निर्वाचन आयोगका अनुसार हाल आयोगमा १३२ वटा राजनीतिक दल दर्ता छन् । उपनिर्वाचन प्रयोजनका लागि थप दल दर्ता हुने क्रममा छन् । दर्ता नहुने दलले निर्वाचनमा भाग लिन पाउँदैनन् ।आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कुल ५१ वटा पदमा उपनिर्वाचन हुँदैछ ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर