Aamsanchar

एक्सनमा नगए परिवर्तन विरोधीले ‘रियाक्सन’ गर्छन : प्रचण्ड

Author Image
बिहिवार, भदौ १९, २०७६

काठमाडौं भदौ १९। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिभिन्न तहका सत्ता सन्चालन गरिरहेका जनप्रतिनिधिहरुले ‘एक्सन’मा नजाने हो भने प्रतिगमनकारीले ‘रियाक्सन’ गर्ने खतरा देखिन थालेको विश्लेषण सुनाएका छन् ।

समता फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको तीनै तहका सरकार र संसदका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले धर्म र अन्य असन्तुष्टिका नाममा संघीय गणतन्त्र र धर्म निरपेक्षतामाथि आक्रमण बढिरहेको बताए । कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसमेत सहभागी कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले केही समयदेखि प्रतिगमनकारीले टाउको उठाउन थालेको बताए । उनले हालै प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकबाट सबै पार्टी प्रगितमनकारीविरुद्ध एकजुट रहेको सन्देश दिइएको समेत दावी गरे ।

प्रचण्डले भने हिजो जनआन्दोलन र जनयुद्धबाट सत्ताच्युत गरिएका मान्छे चलमलाउन थालेका छन् । तर त्यस्ता प्रवृतिविरुद्ध हामी सबै राजनीतिक पार्टी एक ठाउँमा छौं भन्ने सन्देश त दिएका छौं । तर हामी जनप्रतिनिधिहरुले एक्सनमा गएर जनताको आकांक्षा पूरा गर्न थालेनौं भने अर्कोले रियाक्सन गर्छ र त्यो धेरै महँगो पर्छ ।
दुई दिनसम्म चल्ने भेलामा संघीय संसदका दुवै सदन, प्रदेशसभा, जिल्ला समन्वय समिति र स्थानीय तहमा निर्वा्चित दलित जनप्रतिनिधिहरुको सहभागिता छ ।

Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर