Aamsanchar

सामाजिक विकास समितिको प्रतिवेदन प्रदेशसभामा पेश

Author Image
शुक्रवार, भदौ २०, २०७६

विराटनगर,

सामाजिक विकास समितिका सभापति सरिता थापाले समितिको प्रतिवेदनसहित ‘प्रदेश सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभामा पेश गर्नुभयो ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम सो प्रतिवेदन उहाँले पेश गर्नुभएको हो । सभापति थापाले समान उद्देश्यले छरिएर रहेका पूँजीलाई एकीकृत गरी आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्ने सहकारी मुलुकको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भ हो भन्नुभयो ।

सहकारी सम्बन्धका यो विधेयकलाई पटक–पटक छलफल गरी संशोधन गरेर समृद्ध बनाउने प्रयास भएको बताउँदै उहाँले उत्पादन, कृषि, सेवा, वित्तीय, श्रमिक र बहुउद्देश्य किसिमका सहकारीबाट मुलुकका अर्थतन्त्र बलियो हुनुका साथै उत्पादन बढ्ने र प्रशस्त रोजगारी सिर्जना हुने कुरामा जोड दिनुभयो ।

सैद्धान्तिक छलफल

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको छलफलले पनि निन्तरता पाएको छ ।

छलफलमा प्रदेशसभा सदस्य अम्बिका थापा, केदार कार्की, जयराम यादव, राजन राई, राधा थापा र सूयर्माराज राईले सवारी दुर्घटनाबाट ज्यान गुमाउने परिवारलाई रु १० लाख क्षतिपूर्ति हुनुपर्ने विधेयकमा व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँहरुले प्रदेश नं १ बाट अर्को प्रदेशमा आउने सवारीसाधनको बारेमा प्रहरीमा जानकारी दिनुपर्ने व्यवस्थाले यातायात व्यवस्थित हुने भन्दै इ–रिक्साका नवीकरण एवं दर्ता स्थानीय तहले गर्नुपर्ने प्रावधान विधेयकको सुन्दर पक्ष छ भन्नुभयो ।

शून्य समय

प्रदेशसभा सदस्य कृष्णकुमारी राईले सवारीसाधन दुर्घटनाबाट मृत्यु भएका परिवारलाई दिइने रु पाँच लाख कम भएको चर्चा गर्नुभयो ।

उहाँले जन्मको आधारमा नागरिकता प्राप्त गरेको व्यक्तिका परिवारलाई नेपाली नागरिकता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य सूयर्माराज राईले मोरङको बेलबारीमा विदेशी नागरिकबाट सञ्चालन भएको अनाथ आश्रमका जग्गा हिनामिना एवं अपचलन भएकाले प्रदेश सरकारले छानविन समिति बनाएर वास्तविक कुरा जनतामा ल्याउनुपर्ने माग गर्नुभयो ।

प्रदेशसभाको अर्को बैठक आज अपराह्न २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर