Aamsanchar

निर्मलको भ्रष्टाचार निर्मूल पार्ने अभियानमा जुटन् आह्वान

Author Image
आइतवार, भदौ २९, २०७६

काठमाडौँ,

निर्मल लामा स्मृति प्रतिष्ठान, नेपालले आगामी असोज ३ अर्थात् संविधान दिवसको अवसर पारेर भ्रष्टाचारविरुद्ध अभियान शुरु गर्ने भएको छ ।

देशको सबैभन्दा ठूलो शत्रुका रुपमा रहेको भ्रष्टाचारलाई निर्मूल पार्न नवलपरासीको नवलपुरबाट शुरु हुने अभियानले ग्रामीण जनतालाई भ्रष्टाचारविरुद्ध एकाकार हुन जागरण पैदा गर्ने अध्यक्ष अमिक शेरचनले जानकारी दिनुभयो ।

नेपाली वामपन्थी आन्दोलन अग्रणी तथा निष्कलङ्कित व्यक्तिका रुपमा परिचय स्थापित गर्नुभएका निर्मल लामाले १९ वर्षअघि भ्रष्टाचार र बेथितिप्रति इङ्गीत गर्दै देशको सबैभन्दा ठूलो दुश्मनका रुपमा रहेको राजनीतिक भ्रष्टाचारविरुद्ध साझा कार्यसूची बनाएर सङ्घर्ष गर्न जनतामा अपिल गर्नुभएको थियो ।

लामाको चाहना र भावनालाई मूर्तरुप प्रदान गर्न प्रतिष्ठानले सातै प्रदेशका गाउँगाउँ पुगेर के–कस्तो ढङ्गले, ककसको मिलेमतोमा, कसरी भ्रष्टाचार भइरहेको छ भन्नेबारेमा तथ्याङ्क सङ्कलन गर्नेछ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेरचनले सरकारको भ्रष्टाचारविरुद्धको कार्यक्रम कार्यान्वयन गर्न अभियानले सहयोग गर्ने उल्लेख गर्दै भन्नुभयो, “भ्रष्टाचार न्यूनीकरण होइन, नियन्त्रण गर्नुपर्नेमा सबैको जोडबल हुनुपर्दछ ।”

छ वर्षअघि स्थापना भएको उक्त प्रतिष्ठानले पहिलो चरणको भ्रष्टाचारविरुद्धको अभियान सात प्रदेशका मुख्यमुख्य शहरमा करीब दुई महीना सञ्चालन गर्ने जनाइएको छ । जारी विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारले राज्यव्यवस्था र सिङ्गो समाजलाई गाँजिरहेको छ, समग्र विकासको गति अवरुद्ध पारिरहेको छ, यसको चरित्र बहुआयामिक छ, सरकार, राजनीतिक दल, न्यायाधीश, गैरसरकारी संस्था, नागरिक समाज, सञ्चारजगत, जनता सबैले भ्रष्टाचारको घोर विरोध गर्छन् तर पनि भ्रष्टाचार किन रोकिन्न ?” विश्वमा भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल १२४औँ मुलुकमा पर्दछ ।

अहिले नागरिकको दैनिक जीवनदेखि राष्ट्रिय स्वतन्त्रता र स्वाधीनतासम्म भ्रष्टाचारले प्रभाव पारेको सो अवसरमा जानकारी दिइयो । पैसाको बलमा पद, पदको बलमा पैसा कमाउने प्रवृत्ति र पैसाको बलमा निर्वाचन जित्ने प्रणाली आज पनि कायम रहेको जनाउँदै प्रतिष्ठानले राज्य सम्पत्तिको लुट, घुसखोरी, कमिसन, जमाखोरी, ठगीजस्ता अनेकाँै काण्ड र भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई जिम्मेवार र उत्तरदायी बन्न सुझाव दिएको छ ।

उपाध्यक्ष लीलामणि पोख्रेलले नीतिगत, प्रशासनिक, न्यायिक, प्राविधिक, मूलाहिजा र राजनीतिकलगायतका भ्रष्टाचारको भण्डाफोर गर्न अभियान सफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारसँग हाम्रो आग्रह छ, भ्रष्टाचार नियन्त्रण मात्र होइन, निर्मूल गर्न दृढतापूर्वक अगाडि बढ्नुपर्छ ।”

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर