Aamsanchar

सम्पदा पुनःनिर्माणमा पारदर्शिताको स्थलगत अनुगमन

Author Image
आइतवार, भदौ २९, २०७६

काठमाडौँ,

भूकम्पले भत्किएका पशुपति क्षेत्रका सम्पदा पुनः निर्माणमा पारदर्शिताका बारेमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले स्थलगत अनुगमन गरेको छ ।

भूकम्प अति प्रभावित १४ जिल्लामा टिआइ नेपालले ‘भूकम्पपछिको पुनः निर्माणमा सदाचार कार्यक्रम’ लागू गरेको छ । अनुगमनपछि टिआइ नेपालले पुनःनिर्माण हुने सम्पदा क्षेत्रमा सबैले देख्ने स्थानमा सूचना पाटी राख्न, पुरातात्विक सामग्रीको संरक्षण गर्न र सुरक्षा निकायको निगरानी बढाउने गरी व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई अनुरोध गरेको छ ।

कोषका निर्देशक भरत मरासिनीले पशुपति क्षेत्रका ९० सम्पदामा भूकम्पले क्षति गरेकामा हालसम्म ३२ को पुनःनिर्माण सकिएको जानकारी दिनुभयो । भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी पुनःनिर्माणमा ढिलाइ भएको स्वीकार गर्नुहुँदै उहाँले शुरुमा दातालाई जिम्मा दिइएकामा काम नभएकाले हाल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बजेटमा कोषले नै गर्न लागेको बताउनुभयो ।

पछिल्लो समय जीर्ण मन्दिरको दुई तला भत्काइसकेपछि भेटिएका तीन वटा नयाँ गजुरका कारण काम १० दिनदेखि रोकिएको छ । केही दिनमा सहजीकरण समितिको बैठक बसी फेरि काम शुरु गरिने कोषले जनाएको छ ।

अनुगमनमा टिआइ नेपालका वरिष्ठ अधिकृत सविता शर्मा, इञ्जिनीयर निरञ्ज बाँस्कोटा, काठमाडौँ हेर्ने अधिकृत शारदा नेपाली, पुरातत्व विभागका पुरातत्व अधिकृत देवेन्द्र भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर