Aamsanchar

प्रमाणपत्र छ, चिकित्सक छैनन्

Author Image
मङ्गलवार, भदौ ३१, २०७६

बिर्तामोड, भदौ ३०। आयुर्वेद स्वास्थ्य सेवा सञ्चालन गर्दा स्वास्थ्य जाँच तथा परामर्श दिने व्यक्ति कम्तीमा वीएएमएस वा सो सरहको चिकित्सा सम्बन्धी उपाधि प्राप्त गरी आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएको हुनुपर्ने कानूनी व्यवस्था छ ।

तर, झापामा सञ्चालित अधिकांश क्लिनिकले वीएएमएस वा सो सरहका व्यक्तिको प्रमाणपत्रका भरमा आयुर्वेद स्वास्थ्य क्लिनिक सञ्चालन गरिरहेका छन् । नियमनकारी निकाय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढी र स्थानीय तहले स्वास्थ्य संस्थाको नियमन नगर्दा आयुर्वेद चिकित्साका नाममा मनोमानी हुने गरेको छ । विरामी जाँच तथा परामर्श वीएएमएस मान्यता प्राप्त आयुर्वेद चिकित्सकले जाँच गर्नुपर्ने वा परामर्श दिनुपर्ने भए पनि कविराज र वैधले मात्र नभई क्लिनिक सञ्चालकले समेत आफूखुशी विरामी जाँच गर्दै जथाभावी औषधि दिइरहेका छन् । जसका कारण स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि चरम लापरवाही देखिएको छ ।

अधिकांश क्लिनिक सञ्चालकले वीएएमएसको प्रमाणपत्र देखाएर आन्तरिक सहमतिका आधारमा पचास हजारदेखि एक लाखसम्ममा तिरेर जिल्ला स्वास्थ्य कार्यालयमा पेश गरेका छन् । क्लिनिक दर्ताको प्रक्रिया पु¥याउन क्लिनिक सञ्चालकले वीएएमएस गरेकाको प्रमाणपत्र खरिद गरेर जिल्लामा पेश गरे पनि विरामी जाँच्ने बेलामा उनीहरु हुँदैनन् । काठमाडौं निवासी एक चिकित्सकले भने– ‘मेरो सर्टिफिकेटका आधारमा झापाको बिर्तामोडमा एक क्लिनिक सञ्चालनमा छ । शुरुमा प्रतिवर्ष एक लाख रुपैयाँ दिने सहमति भएको थियो तर अहिले ७५ हजार रुपैयाँ मात्रै दिँदै आएका छन् ।’ एक जना साथी झापा तिरकै हुनुहुन्थ्यो, उहाँकै सिफारिसका आधारमा मैले सर्टिफिकेट दिएको हो, उहाँले नै सबै कुरा मिलाई दिएपछि गत वर्ष मैले सर्टिफिकेट दिएको हुँ– वीएएमएस मान्यता प्राप्त एक चिकित्सकले भने ।

उनी त एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरैको प्रमाणपत्र राखेर जिल्लामा आयुर्वेद क्लिनिक र अस्पताल सञ्चालनमा छन् । नियमनकारी निकाय मौन छ । पायल्सको शल्यक्रियाका लागि उपचार गराउन दमकस्थित एक स्वास्थ्य संस्थामा पुगेकी महिलाको ज्यान जाँदा समेत नियमनकारी निकाय मौन रहनुले आयुर्वेद क्षेत्रमा बिकृति देखिएको छ ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७०को परिच्छेद ९ मा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धि स्वास्थ्य संस्थाहरुको मापदण्ड निर्धारण गरेपनि मापदण्ड विपरीत सञ्चालित स्वास्थ्य संस्थाको लापरवाहीकै कारण सर्वसाधारणले ज्यान गुमाउनु परेको छ ।

झापा निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पताल सहित २३ वटा आयुर्वेद क्लिनिक सञ्चालनमा छन् । सञ्चालित आयुर्वेद अस्पताल तथा क्लिनिक अधिकांश मापदण्ड विपरीत छन् । निर्देशिका अनुसार आयुर्वेद स्वास्थ्य सेवा सञ्चालन गर्न आयुर्वेद चिकित्सा प्रणाली अन्तरगत स्वास्थ्य सेवा प्रदान गर्दा वा चिकित्सा व्यवसाय गर्दा सम्वन्धित विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा स्नातकोत्तर उपाधि हासिल गरी नेपाल आयुर्वेद चिकित्सा परिषद्मा दर्ता हुनुपर्नेछ । नेपाल सरकारको वहालवाला कर्मचारी भएमा पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । पञ्चकर्म सेवा केन्द्रमा सम्वन्धित विषयमा कम्तीमा वीएएमएस वा सो सरह उपाधि प्राप्त व्यक्तिबाट वमन, विचेन, शिरोविरेचन, अस्थापन, अनुवासन, वस्ती प्रयोग गर्नुपर्ने र उत्तर वस्तीको लागि सम्वन्धि विशेषज्ञ हुनुपर्ने छ । यो अस्पतालका लागू हुने नियम हो ।

त्यस्तै अस्पताल सञ्चालन गर्दा जनशक्ति, भौतिक पूर्वाधारा, औजार–उपकरण र सेवाको गुणस्तरीयतामा मात्र संस्था विस्तार,स्वीकृतिको लागि माग गर्ने र उपयुक्त ठहर भएमा शाखा विस्तारको स्वीकृति दिन सकिने निर्देशिकामा उल्लेख छ । आयुर्वेद अस्पतालमा काम गर्ने कर्मचारीलाई संक्रमण सुरक्षा सम्वन्धि आवश्यक तालिम दिनुपर्ने व्यवस्था भए पनि कुनै पनि स्वास्थ्य संस्थाले त्यो गरेको पाइँदैन ।

त्यस्तै इन्ट्रिग्रेटेड क्लिनिक, नर्सिङ्ग होम वा अस्पताल भनी स्वीकृतिका लागि माग भएमा कुन–कुन बिषय र सेवा दिने उद्देश्य राखिएको हो ? सो प्रष्ट उल्लेख गरी सोही बमोजिमका जनशक्ति, औजार उपकरण र भौतिक पूर्वाधार व्यवस्था गर्नुपर्नेछ ।

आयुर्वेद चिकित्सा विधामा स्वास्थ्य रक्षा, रोग निवारण, औषधि द्रव्य काष्ठौषधि, रसौषधिको प्रयोग गरिने चिकित्सा सेवा, विना औषधि दिइने सेवा र आयुर्वेद स्वास्थ्य सेवामा उल्लेखित पूर्वकर्म अन्तर्गतका निराग्नी स्वेद (जल, वायु, सूर्यकिरण, पार्थिव तत्वको प्रयोग), अग्नि स्वेदन, अभ्यङ्ग, सात्वावजय चिकित्सा (योगाभ्यास, ध्यान आदि) को माध्यमबाट रोगको रोकथाम वा दीर्घजीवनको लागि सञ्चालन गरिने संस्थाहरुले आयुर्वेद स्वास्थ्यकर्मीहरु, भौतिक पूर्वाधार, आवश्यक औजार उपकरण र तोकिएको मापदण्ड पूरा गरी जुनसुकै नाममा सञ्चालन भएतापनि आधार ग्रन्थसहित अनुमति प्रदान गर्ने निकायबाट अनुमति लिएर मात्र सञ्चालन गर्न पाइनेछ भनिएको छ ।

अस्पताल सञ्चालन गर्दा युक्ति व्यापाश्रय चिकित्सा, संशमन (औषधि चिकित्सा), संशोधन (वमनादि पञ्चकर्म शोधन चिकित्सा), दैव व्यापाश्रय, सत्वावजय , शस्त्र–प्रणिधान र योगाभ्यास अनिवार्य रहेको छ । स्वास्थ्य प्रवद्र्धनात्मक, स्वास्थ्यरक्षा तथा प्रतिरोधात्मक स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने समेत निर्देशिकामा उल्लेख छ । जसमा प्रकृति विनिश्चय र परामर्श, स्वस्थवृत्त पालन–ऋतुचर्या, दिनचर्या, रात्रिचर्या, पथ्यापथ्य, आहारबिहार, रसायन, वाजीकरण, पञ्चकर्म, योगाभ्यास गर्नुपर्ने हुन्छ ।

आयुर्वेद स्वास्थ्य क्लिनिक÷पोलिक्लिनिक सम्बन्धी मापदण्ड तथा पूर्वाधारहरु पुगेको हुनपर्छ । आयुर्वेद पोलिक्लिनिक सेवा सञ्चालन गर्दा एउटै व्यवस्थापन अन्तर्गत रही तीन वा सो भन्दा बढी सेवा प्रदान गर्नु पर्ने र औषधि सेवाको व्यवस्था समेत हुनुपर्नेछ । स्वास्थ्य जाँच गर्ने तथा परामर्श दिने व्यक्ति कुनै पनि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा पनि सो सरहको चिकित्सा सम्बन्धि उपाधि प्राप्त गरी आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएको हुनुपर्नेछ– निर्देशिकामा भनिएको छ ।

क्लिनिकमा बरामीको जाँच गर्ने भेन्टिलेटेड कोठा सेवा अनुसारको छुट्टाछुट्टै हुनुपर्नेछ । (कम्तीमा १४x१० वर्ग फिट) (ख) बिरामी बस्नेठाउँ (कुर्ने ठाउँ) (ग) बिरामी जाँच्ने टेवुल (घ) चिकित्सकको लागि कुर्सी (ङ) चिकित्सकको लागि टेबुल (च) बिरामी बस्ने कुर्सी,टुल (छ) बिरामी कुर्न बस्ने बेन्चहरुको व्यवस्था (ज) शौचालयको व्यवस्था (झ) टेलिफोन (स्वैच्छिक) हुनुपर्छ भनिएको छ ।

त्यस्तै आवश्यक औजार उपकरणहरु निम्न अनुसारको हुनुपर्नेछः– (क) थर्मामिटर –१ (ख) तौल लिने मेशिन –१ (ग) उचाइ नाप्ने मेसिन –१ (घ) टंग डिप्रेसर– १ (ङ) ब्लड प्रेसर जाँच्ने मेसिन–१ (च) स्टेथोस्कोप –१ (छ) आँखा, नाक, कान जाँच्ने सेट –१ (ज) प्रोक्टोस्कोप –१ (झ) प्रोव (ञ) सिरिञ्ज (ट) टर्च लाइट (ठ) पञ्जा (ड) मास्क, एप्रोन (ढ) किड्नी ट्रे (ण) बाल्टिन हुनुपर्ने व्यवस्था छ ।

अन्य व्यवस्था (थप मापदण्ड) (क) विशेषज्ञ सेवा र बिषय अनुसारको आवश्यक औजार उपकरणहरुको व्यवस्था हुनुपर्नेछ । (ख) बिरामीको सम्पूर्ण बिवरण राख्नको लागि एउटा रजिष्टर हुनुपर्नेछ । (ग) क्लिनिकमा प्रयोग गरिने सम्पूर्ण औजारहरु अनिवार्य रुपमा निर्मलकृत गरिएको हुनुपर्नेछ । (घ) क्लिनिकमा काम गर्ने व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र तथा आयुर्वेद चिकित्सा परिषद् दर्ता नं., सेवा शुल्क र आयकर प्रमाणपत्र सबैले देख्ने ठाउँमा राख्नुपर्नेछ । (ङ) मासिक प्रतिवेदन नियम अनुसार सम्बन्धित निकायमा पठाउने व्यवस्था हुनुपर्नेछ भनिएको छ ।

डाक्टरको सिफारिसका आधारमा तालिमप्राप्त व्यक्तिले मात्रै विरामीलाई औषधि दिनुपर्ने भए पनि स्वास्थ्य सम्वन्धि ज्ञान नै नभएका व्यक्तिलाई क्लिनिकमा राखेर औषधि दिइँदै आइएको छ । संस्था दर्ताका लागि वीएएमएसको प्रमाणपत्र प्रदान गरेका त्यस्ता क्लिनिकले वैद्य र कविराजको भरमा अनावश्यक औषधि दिँदा समेत नियमनकारी निकाय बेखबर छ । कतिपय क्लिनिकले वरिष्ठ डाक्टर आउने सूचना जारी गर्दै विरामी वोलाउने र कविराज र वैद्यकै भरमा विराामी जाँच्ने गरेका छन् । अझ फार्मेसीमा त आफू खुशी बिरामीको जाँच गर्दै औषधि दिँदा समेत नियमनकारी निकाय बेखबर छ । त्यसबाट आयुर्वेदका नाममा स्वास्थ्यमा चरम लापरवाही गरेको पुष्टि हुन्छ ।

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर