
काठमाडौँ, ३ असोज । सरकारले यस वर्षको राष्ट्रिय संविधान दिवसको अवसरमा २६० जना कैदीको बाँकी सजाय मिनाहा गरेको छ । आज संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले उक्त कैद माफी गर्नुभएको हो । नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर ( सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन, २०७४ तथा फौजदारी कसूर ( कैद कट्टा ) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासमेतका २६० जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय कट्टा गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले रामकिशोर साह तेलीलगायत २२ जना व्यक्तिहरुलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय आम माफी गर्नुभएको छ । सहायक प्रवक्ता घिमिरेका अनुसार संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम सो सजाय माफी भएको हो ।

