

सर्वे भवन्तु सुखिनस्,
सर्वे सन्तु निरामया,
सर्वे भद्राणि पश्यन्तु,
मा कश्चिद् दुखभागभवेत्,
ॐ शान्तिस् शान्तिस् शान्तिस्

अर्थात् सबैजनालाई सुख होस्, सबै शुभको पहिचान गर्न सक्ने होउन् । सबै स्वस्थ होउन र कोही प्राणी पनि दुःखि नहोस् । उपनिषधुबाट साभार गरिएको यो शान्ति स्तोत्र प्रस्तुत गर्न चाह्यौं, विश्व शान्तिको कामना सहित । होम स्वस्ती आदि गर्ने सनातन सम्प्रदायले शदियौंदेखि विश्व शान्तिको डोर आफ्नो परम्परा र संस्कारमा समाहित गरेका छन् । आज यहि डोरलाई अझ प्रगाढ बनाएर विश्व भरिका समूदाय र सभ्यतालाई जोड्ने बेला आएको छ ।

शान्ति एउटा अध्यात्मिक शब्दावली मात्र नभई मानव सभ्यताको अनिवार्य आवश्यक्ता पनि हो । शान्ति दिवसमा शान्तिको घाँटी निमोठिएका प्रशस्त उदाहरणका साथ, दम्भ बोकेर न्यायको कठघरामा आज विश्व समूदाय उभिएको छ । आतंकवाद, आन्दोलन, हत्या हिंसा, बैमनस्यता र अमानविय श्रृंखलाहरुमा विश्वभर कुनै न कुनै रूपमा जकडीएको छ । कोरियाली परिवेश, मिसाईल, क्षेप्यास्त्र आदिको डरले घरमुनी बङ्कर बनाएर केही भएमा ज्यान जोगिन्छ कि भन्ने आशमा घर मुनी कोठा बनाइरहेका कोरियाली अनि जापानीहरु समेत विश्वमै अति सम्भ्रान्त देशका त्रसित करुणामयी अशान्त नागरीकहरुसम्म आज शान्ति हराएको अवस्था छ ।


म्यानमारका रोहिंग्या देखि सिरियाली शरणार्थीका आँखाहरुसंगै दशकौंदेखि बम र बारुदमा बाँचीरहेका अफगानिस्तान, ईराक लगायत धेरै देशका नागरीकहरुको शान्तिको हिसाब किताब कस्ले गर्ने हो, शान्तिको स्थापना संस्थागत गर्न जरुरी छ ।
सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।
१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । त्यो शंखनाद सिरिया, अफगानिस्तान, लिविया हुँदै विश्वका हरेक कुना कन्दरामा पुगोस् । सगरमाथाको शिखरदेखि मृत सागरको तहसम्म शान्तिको लहर फैलियोस् ।
बिगतका वर्षहरुका शान्ति केवल राजनैतिक र दार्शनिक शव्दावलिका रुपमा प्रयोग भएको पाइन्छ, कहिँ धर्महरुबिच त कहिँ मर्महरुबिच आततायी रुपमा शान्तिलाई निर्मम निमोठिएको छ । विश्व यूद्धको अवधिलार्इ नरकंकालको माला लगाइदिएका शाषकहरुले आज प्रथम विश्वयूद्धको १०० वर्ष पुरा हुँदासम्म बिभिन्न श्रृंखला अनि अनेक नाममा दोब्बर हाराहारीमा मान्छे मारिसकेका छन् । स्मरणीय रहोस्, शान्ति गौतमबुद्धको वचन मात्र हैन सबैको दायित्व पनि हो । हृदयमा सदाचार लिएर पाइला चालौं, आत्मियता अनि माफीको पथमा हिँडौ । आजका पुस्तालाई विश्वबन्धुत्वको पाठ सिकाउन जरुरी छ ।
विश्व शान्ति दिवसमा बुद्धको देशबाट विश्व समूदायलाई शुभकामना !
नेपालको पोखरामा रहेको विश्व शान्ति स्तूपामा आज विश्व शान्तिको कामना गर्दै दिप प्रज्जवलन गरिनेछ, यस दिन बिहान सगरमाथा पारीबाट उक्लिएको घामले सदासर्वदा शान्तिको राप विश्वलाई दिइरहोस् ।

