
प्रतिकात्मक तस्वीर

उर्लाबारी । पटक पटक एक पछि अर्को विवादमा आई रहेको उर्लाबारी नगरपालिमाका पुन अर्को समस्या खडा भएको छ । नगरप्रमुख र कर्मचारी बिच असमजदारीका कारण धेरै बिवाद बाहिर आउने गरेको छ । फेरी मोरङ जिल्लाको पूर्वी सिमामा रहेको शुन्दर नगरी भनेर प्रचार भएको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले आफूलाई हातपात गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले नगर छोडेर बिराटनगर पुगेका छन ।

मंगलबार करारमा कार्यरत कर्मचारीको म्याद एक वर्ष थप्न नमानेपछि फागोले हातपात गरेको रेग्मीले आरोप लगाएका छन ।

रेग्मी अहिले सुरक्षा माग गर्दै विराटनगर पुगेका छन् । मेयरले कुटपिट गर्न मान्छे लगाएपछि आफू प्रहरी स्कर्टिङमा उर्लाबारी छाडेर आएको रेग्मीले बताए ।

उर्लाबारी नगरपालिकामा जनप्रतिनिधि आएपछि ५१ जना कर्मचारीलाई करारमा नियुक्त गरेको थियो । करार नियुक्ति पाएकाहरुको म्याद एक वर्ष थप्न फागोले रेग्मीलाई दबाव दिएका थिए । तर आफूले ६ महिना भन्दा बढी म्याद थप गर्न नमिल्ने बताएपछि फागोले आफ्नै कार्यकक्षमा हातपात गरेका प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताए ।
‘मेयर फागोसँग कुराकानी सकेर आफ्नो च्याम्बरतर्फ जाने तरखरमा थिएँ’ रेग्मीले भने ‘उहाँको प्रस्ताव मैले नमान्दा जुरुक्क उठेर आक्रमणको शैलीमा आउनुभयो, मेरो हातमा लाग्यो ।’ मेयरले हातपात गरेपछि हतार हतार बाहिर निस्किएर गुहार मागेको उनले बताए ।
विवाद भएपछि पून छलफलका लागि कार्यकक्षमा प्रवेश गर्दा मेयर फागोले अपशब्द प्रयोग गरेको रेग्मीले आरोप लगाए । ‘लोकसेवा यहाँ चल्दैन । टिप्पणी उठाएर साइन गर्नुहोस् भन्दै फाइल म तिर फाले’ रेग्मीले भने ‘ ‘पछि मान्छे बोलाएर कुटपिट गर्न खोज्दा प्रहरीले रोके ।’
गत साउन २ गते हाजिर भएका रेग्मीको निवासमा दुईसाता अघि फागोले तालाबन्दी गरेका थिए । ताला लगाएपछि भदौ २८ गते जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा फागोले काम गर्ने बातावरण सिर्जना गर्ने बताएपछि उनी फर्किएका थिए । तर मेयरबाट असुरक्षा बढेपछि आफ्ना सबै सामान लिएर फर्किएको रेग्मीले बताए ।
प्रमुख भन्छन् – हातपात भएको छैन
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फगोले आफूले हातपात नगरेको बताएका छन् । कर्मचारीको म्याद थप गर्ने विषयमा सामान्य विवाद भएको बताउँदै उनले हातपात नगरेको दाबी गरे । रेग्मीले करारका कर्मचारीको विषयमा निर्णय नगरेर तनाबमा राखेको उनले बताए ।

