Aamsanchar

अपराधमा मुछिँदै मनी चेन्जर

Author Image
बिहिवार, असोज ९, २०७६

काठमाडौँ – सिस्टम ह्याक गरी एटीएम बुथबाट झन्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेलीसँगै दुई नेपालीलाई नियन्त्रणमा लियो । भदौ १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ पक्राउ परेका हुन् ।

यो घटनापछि देशभरका मनी चेन्जर र तिनको कमजोर नियमनको पाटो सतहमा आयो । हुन्डी, अवैध सुन र डलर तस्करीका घटनामा बेलाबखत तानिने गरेका मनी चेन्जरहरू यसपटक बैंकिङ कसुर मुद्दामा जोडिन पुगे ।

संगठित अपराध, विदेशी मुद्राको अपचलन र तस्करीका घटनामा मनी एक्सेन्जरहरू जोडिन थालेपछि प्रहरीले यिनको संख्याबारे पुनर्विचार गर्नुपर्ने प्रस्ताव राष्ट्र बैंकसमक्ष राखिसकेको छ । प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटी मनी एक्सचेन्जरहरू विभिन्न आर्थिक अपराधका घटनामा जोडिएकाले उनीहरूको नियमन र अनुगमन जरुरी रहेको बताउँछन् ।

राष्ट्र बैंकले मनी चेन्जरका लागि नयाँ लाइसेन्स रोक्का गरेको छ । डेढ वर्षअघि राष्ट्र बैंकले लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको हो । खासगरी तराई र सीमा नाकाका लागि लाइसेन्स माग्दै आवेदन धेरै आएको तर ती ठाउँमा पहिल्यै धेरै कम्पनी रहेकाले केही समयका लागि लाइसेन्स वितरण स्थगित गरेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए । ‘त्यतिबेला दमक, बिर्तामोड, वीरगन्जलगायत भारतसँग सीमा जोडिएका स्थानमा मात्र धेरै लाइसेन्स माग भयो,’ उनले भने, ‘विदेशी मुद्रा अपचलनको मुद्दामा मनी चेन्जर पनि मुछिएको पाइयो । तिनको कामकारबाही पारदर्शी पनि भएन । त्यसै नयाँ लाइसेन्स वितरण स्थगित गरिएको हो ।’ लाइसेन्स रोक्ने निर्णय हुँदा उनी राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख थिए ।

आर्थिक अपराधका घटना अनुसन्धान गरेका प्रहरीका उच्च अधिकारीहरू भने मनी चेन्जरको लाइसेन्स रद्द गर्नेसम्बन्धी कानुनी व्यवस्था कमजोर रहेको र धरौटीमा छुटेपछि फेरि आर्थिक अपराधमा संलग्न हुने घटना बढी देखिएको बताउँछन् । मनी चेन्जरको कारोबार गर्न अनुमति पाएको फर्म वा कम्पनीले तोकिएको काम मात्र गर्न पाउँछन् । भारतीय रुपैयाँमा कारोबार गर्न इजाजतपत्र प्राप्त फर्म वा कम्पनीले उक्त मुद्राको खरिद तथा बिक्री दुवै गर्न सक्छन् । परिवर्त्य विदेशी मुद्रा कारोबार गर्न इजाजत प्राप्त फर्म वा कम्पनीले त्यस्तो मुद्रा खरिद मात्रै गर्न सक्छन् । विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सटही सुविधाबापत परिवर्त्य विदेशी मुद्रा बिक्री मनी चेन्जरले त्यसबापत परिवर्त्य विदेशी मुद्रा बिक्री गर्न सक्ने व्यवस्था छ ।

मनी चेन्जरले खरिद गरेको परिवर्त्य विदेशी मुद्रा बैंक वा राष्ट्र बैंकमा बुझाउनुपर्छ तर प्रहरीका अनुसन्धान अधिकारीहरू धेरैजसो मनी चेन्जरले सटहीको हिसाबकिताब दुरुस्त नराख्ने र सटही गर्ने व्यक्तिको परिचय खुल्ने कागजात नराख्ने गरेको बताए । महानगरीय प्रहरी अपराध महाशाखाले गत वर्ष वैशाख ७ मा झापाका एक जनालाई ३८ हजार अमेरिकी डलरसहित पक्राउ गर्‍यो । महाशाखाका तत्कालीन डीएसपी रुगम कुँवरले उनीसँग बयान लिए । बयानक्रममा ती व्यक्तिले काठमाडौंमा विभिन्न मनी चेन्जर कम्पनीबाट रकम उठाएको बताए । महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेका डीएसपी कुँवरले उक्त घटनाले मनी चेन्जरले सटहीको हिसाबकिताब नराख्ने र हुन्डीलगायत घटनामा मनी चेन्जर प्रयोग भएको देखिएको बताए ।

जनकराज सापकोटा, यज्ञ बञ्जाडेले लेखेको समाचार आजको कान्तिपुरमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर