Aamsanchar

ब्रुमर चल्न थालेको पाँच महिना भयो, तर सडकमा धुलो किन उस्तै

Author Image
बिहिवार, असोज ९, २०७६


काठमाडौँ महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन। सडकमा धुलो उस्तै देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता अहिले पनि ज्युँका त्युँ छ। नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। कामपा वतावरण विभागका अनुसार हरेक दिनजसो पानी पर्दा बु्रमरले नियमित सडक सफा गर्न पाएको छैन, जसका कारण जनअपेक्षाअनुसार धुलो कम हुन सकेको छैन्। विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीको कारण हुने हिलो सफा गर्नु अर्को थप चुनौती हो।

दैनिक १० टन धुलो सङ्कलन गर्दै आएका सात यान्त्रिकका कुँचोले अहिलेसम्ममा करीब पाँच सय टन धुलो सङ्कलन गरिसकेको श्रेष्ठले बताए। सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए। महानगरले सुन्दर, स्वच्छ र सफा शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थाले पनि नगरवासीले सफा काठमाडौँको अनुभूति गर्न पाएका छैनन्। गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच र त्यसको केही समयपछि चीनको सहयोगमा आएका दुई गरी सात बु्रमर प्रयोगमा रहे पनि काठमाडौँको सडक सफा हुनसकेको छैन। सात वटा ब्रुमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ। सोही रुट अनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको श्रेष्ठले बताए।

प्रमुख श्रेष्ठका अनुसार सडक सफा नहुनुको अर्को प्रमुख समस्याको रुपमा सडकमा रहेका खाल्डाखुल्डी हो। समस्या समाधानका लागि सडक विभागले केही ठाउँको खाल्डाखुल्डी पुर्ने काम गरे पनि धेरै खाल्डा अझै पुर्न बाँकी रहेको छ । जसका कारण बु्रमर सञ्चालन गर्न समस्या भएको छ। न्यूरोड, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गर्दै आएको छ। यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र कामपाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो।

महानगरसँग यसअघि रहेको एउटा ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको छ। उक्त यन्त्रले पानी नपरेको दिन साँझ ८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक सफा गर्दै आएको छ । सञ्चालनमा रहेका ब्रुमर १० करोड ८० लाखमा ल्याइएको हो। ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताका छन्। यूरो मापदण्डका भनिएका ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ। खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ।

मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कूल, रानीपोखरी, काठमाडौँ भ्यूटावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको विभागले जनाएको छ। कानूनीरुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरको जिम्मेवारीमा पर्छन् भने अरु सडक सडक विभागको मातहतमा छन्।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर