Aamsanchar

भतिजाको हत्या आरोपितलाई जन्मकैद

Author Image
शनिवार, असोज ११, २०७६

सप्तरी,

सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले जानकारी दिनुभयो ।

जिल्ला अदालतको आदेशमा आरोपित मण्डल २०७३ फागुन १२ गतेदेखि राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा छिन् । तीन वर्षीय रामअवतार खंग मण्डलको हत्या गरेको अभियोगमा उनकै काकीलाई जन्मकैद सजायको फैसला भएको हो ।

घरमा खेलिरहेका बालकलाई २०७३ माघ २३ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले घटनाकै दिन उनलाई पक्राउ गरेको थियो । घटनाका बेला दाजुभाइ रहेका मृतकका बुबा धर्मदेव खङ्ग मण्डल र आरोपितका पति अशोक खङ्ग मण्डल सिलाइकटाइको कामका लागि भारतको मुम्बईमा बसिरहेका थिए ।

मृतकका हजुरबुवा रामदेव खेतमा तथा मृतकका आमा चन्द्रिका र हजुरआमा विणादेवी घाँस दाउरा गर्न जङ्गल गएकी थिइन् । त्यसैबेला जेठानी चन्द्रिकासँगको रिसइबीमा उनले भतिजाको हत्या गरेकी हुन् ।

Views: 112

प्रतिक्रिया (०)