
नेपालीहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै छ। बडादशैंअन्तरगत नवरात्रीको दोस्रो दिन देवी दुर्गाको स्वरुपमध्ये ब्रह्मचारिणी देवीको पूजा आराधना गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ। नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।

ब्रह्मचारिणी देवीलाई ब्रह्मविद्याकी जननीका रूपमा उपासना गर्ने गरिन्छ । ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिले वेद र धर्मशास्त्रअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मको प्राप्ति हुने र साधनाको परम पदमा पुग्न सकिने प्रसङ्ग शास्त्रमा उल्लेख गरिएको छ । मनुष्य जीवनको बाल्यावस्थापछिको दोस्रो उमेर साधना र ज्ञानको समय हो । सीप, साधना, तालिम र ज्ञानार्जन गर्न भगवती ब्रह्मचारिणीको उपासनाबाट सहज हुने गर्दछ । त्यस्तै सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ ।

ब्रह्मचारिणी देवीलाई सिद्धान्त, कर्तव्यपालना र भक्तिभावको प्रतीक पनि मान्ने गरिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ । माता पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनीसमेत भनी देवीभागवत लगायतका पुराण र अन्य धर्मग्रन्थहरूमा बताइएको छ । शास्त्रहरूमा उनको वदन र वर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । ब्रह्मचारिणी देवीले एक हातमा कमल पुष्प धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् । कमलले सच्चिदानन्द ब्रह्मस्वरूप सङ्केत गर्दछ भने कमण्डलुले वरदान र आशीर्वादको अर्थ सङ्केत गरेको छ । देवी ब्रह्मचारिणीको पूजाआराधना गर्न भक्तजनहरू आज बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ र देवीमन्दिर र दुर्गाघरमा भेला हुने गर्दछन् । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रह्मचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरूको वाचन श्रवणको क्रम पनि जारी रहने गर्दछ ।

