Aamsanchar

दसैं के हो र कसका लागि ?

Author Image
शुक्रवार, असोज १७, २०७६

दसैं बहिष्कारको राजनीतिले ठाउँ पाएको निकै भइसक्यो र यसै प्रसंगमा दसैंको पृष्ठभूमिमा भएका केही कुरा कोट्याउन मन लाग्यो, यसको इतिहास, वर्तमान र आन्तर्यका केही पाटा पहिल्याउन मन लाग्यो । शारदीय नवरात्र सहितको दसैं एउटा महत्त्वपूर्ण हिन्दु चाड हो र मध्यकालका धर्मशास्त्रले यसलाई राजा–रजौटा वा क्षत्रीयको चाड भनेका छन् ।

नौ दिन दुर्गाको पूजा र त्यसबीचमा अष्टमीका दिन भद्रकाली एवं शस्त्रास्त्रको पूजा गरी, पशुबलिको मारकाटले हतियार र लडाइँको मानसिकता दुबैलाई तिखारी, दसमीका दिन हात्तीघोडाको आरती–नीराजन गराएर लावालस्करका साथ हरेक राजाले देश–देशान्तर जित्न, ‘विजय’का लागि, निस्कनुपर्छ भनी धर्मशास्त्र भन्छन् । हुन पनि यस चाडमा मारकाट पशुबलि र मांसभोजनको भरमार हुन्छ, अनि नेपालको परम्परामा र हिन्दुस्तानकै पनि पुरानो परम्परामा यस चाडको सम्बन्ध राजपाट र लडाइँको तयारीसँग छ । हिन्दुस्तानमा जहाँ–जहाँ हिन्दु राजपाट थिए, ती–ती ठाउँमा यस चाडले महत्त्व पाएको छ ।

पछिल्लो मध्यकालका अर्काथरी केही पुराण र धर्मशास्त्रहरूले भने दसैंको अन्तिम दिन राजा रामले रावणमाथि विजय पाएका हुनाले यो दिनलाई विजयादसमी भनिएको हो भन्ने कहानी रचेका छन् । यही कहानीमा टेकेर केहीले गलत मनसायले त धेरैले गलत बुझाइका कारण राम भनेको उत्तर–भारतीय आर्य हो, रावण भनेको दक्षिण भारतीय द्रविड अनार्य हो, अनि दसैं भनेको आर्यले अनार्यलाई परास्त गरेर मनाएको चाड हो भनी नश्लवादी विकृत व्याख्या पस्कने गरेका छन् । यही व्याख्याको नेपाली संस्करण हो— किरात मंगोल भनेका अनार्य हुन् र अनार्यलाई आर्यले जितेर मनाएको चाड भएकाले तिनले दसैं मान्नुहुन्न भन्ने मत ।

आर्य र अनार्य दुईथरी भाषा र संस्कार हुन्, नश्ल होइनन् । जुन–जुन सामग्रीले रावणलाई असत्य र अनार्यताको पक्षधर देखाएका हुन्, ती सबैले उनलाई ऋषि पुलस्त्यको नाति र यक्ष वैश्रवणको भाइ हुन् भनेका छन् । यसरी रावणको कथाले नै आर्य–अनार्यको भेद नश्लबाट नभई संस्कार र आचरणबाट छुट्टिने हो भन्ने देखाएको छ । यस्तो परिस्थितिमा कसरी हामीमध्ये कसैले आफूलाई अनार्यको कित्तामा राख्नु मनासिब हुन्छ रु अर्को कुरा, आजभन्दा तीस–चालीस वर्ष अघिसम्म आफू सानो छँदा मैले यो राम–रावणको युद्ध र तिनको जय–पराजयसँंग दसैंलाई जोड्ने व्याख्या सुनेको पनि थिइनँ, नौरथाभरि पाठ गरिने दुर्गा–सप्तशती ९चण्डी० मा पनि यसको कतै उल्लेख छैन । लोक–परम्पराका रामकथाले ज्यादा महत्त्व पाएका गंगा–यमुना किनाराका मैदानी इलाकाहरूमा भने यो व्याख्या प्रचलित छ । तर यो व्याख्या रामकथाको मूलस्रोत वाल्मीकिको रामायणमा नै पनि भेटिन्न, अनि यो व्याख्या प्रचलित रहेको क्षेत्रमा नेपालमा जसरी दसैं नै मनाइन्न । त्यसैले प्राचीन परम्पराहरूको संरक्षण गरिबसेको नेपालले यस्ता व्याख्या आयात गर्नु पर्दैन, हुँदैन ।

वास्तवमा दुर्ग अर्थात् किल्लामा पुजिने भएकाले देवीलाई दुर्गा भनिएको हो र यिनलाई दुर्गम अनकण्टार बाटोघाटोमा, देउरालीमा र किल्लामा बसी आवत–जावत गर्ने बटुवा र प्रहरी–सिपाहीको रक्षा गर्ने विश्वासले पूजा गरिन्थ्यो ।
प्राचीन वैदिक परम्परा अनुसार त यी ठाउँमा समेत पुरुष देवता नै, सुरुमा इन्द्र र पछि कार्तिकेय, पुजिन्थे । त्यसैले इतिहास खोतल्दै जाँदा, दुर्गम थातथलो, गौंडा–किल्ला र देउरालीकी देउती दुर्गाको पूजा गर्ने चलनको मूलस्रोत लोक–परम्परा हो भन्ने अनुमान गर्नुपर्ने हुन्छ ।

लोकमा प्रसिद्ध र प्रिय भएकी दुर्गालाई विस्तारै जब मूल वैदिक धारमा समावेश गरियो, त्यसक्रममा सबैभन्दा पहिले एक्लै स्वतन्त्र रूपमा, अनि देवराज इन्द्रकी बहिनी कौशिकीका रूपमा यिनलाई उपस्थापित गरियो । यसै बीचमा इन्द्रको पूजा गर्ने परम्परा विस्तारै कमजोर भयो र इन्द्रको ठाउँ शूरवीर लडाकाहरूका देवता वासुदेव कृष्णले लिए । यसपछि देवीलाई पनि कृष्णकी बहिनी सुभद्रिका कात्यायनीका रूपमा हेर्न थालियो । पुरी जगन्नाथमा यसै परम्परा अनुसार कृष्ण र बलरामका साथमा बहिनी सुभद्राको पूजा गर्ने चलन अझै बचेको छ । देवीलाई यसरी बहिनीका रूपमा हेर्ने परम्परा केही समयसम्म पुराना शैव–शाक्त वाममार्गी तन्त्रहरूमा समेत कायम थियो र यिनी त्यहाँ शिवकी बहिनीका रूपमा पुजिन्थिन् । यस्तै परम्परामा विजयादसमीसंँग जोडिएका विजयका चार देवीहरू जया, विजया, अजिता र अपराजिता पनि तुम्बुरु नामका शिवका चार बहिनीका रूपमा पुजिन्थे । समयले फड्को मार्दै जाँदा समाजमा पुरुषको पकड बढेपछि यी सबै परम्परा ओझेलमा परे र देवीलाई शिव, विष्णु वा अन्य कुनै पुरुष देवताकी शक्ति, पत्नी वा प्रियाका रूपमा देखाउन थालियो । विभिन्न थरीका लोक–परम्पराका देवदेवीलाई मूलधारमा समेट्ने क्रममा शिवरविष्णु र देवीका पनि अनेकौं रूप भए । मैले यी कुरा यहाँ भन्नुको कारण नारी वर्ग र लोकजनले देवीलाई अलि बुझुन्, अनि नारी–जागरण र लोक–परम्पराको प्रतीकका रूपमा देवीलाई लिऊन् र अघि सारून् भन्ने हो ।

नेपाली दसैंका आफ्नै विशेषता छन् । सुरुमा राजकीय चाडका रूपमा राजा–रजौटाले यसलाई लोकप्रिय बनाए होलान्, तर समय बित्दै जाँदा यो लोकजनको चाड भएको छ । यसको इतिहाससँंग जोडिएको राजकीयता र युद्धसँंगको सम्बन्ध पृष्ठभूमिमा बिलाउँदै गएका छन् र दसैं पारिवारिक न्यानोपन, विश्राम, उत्सव, पुनर्मिलन, र मैत्रीको चाडको रूपमा विकसित भएको छ । अनि परिवार, नातागोता, ठूलाबडा, साथीभाइ, छिमेकी सबैको एकआपसमा आशिष र शुभकामना साटासाट गर्ने चाड बनेको छ । दसैंको यो बुझाइ र उपयोग नेपाली समाज बाहेक अरूमा छैन । समग्रमा दसैं नेपाली पहिचानको एउटा कडी बनेको छ र यसलाई यसमा भएका केही विकृतिहरूलाई हटाउँदै–घटाउँदै यसै रूपमा विकास गर्नुपर्छ । यसैगरी दसैंसंँग जोडिएको जमरा राख्ने र लाउने चलन लोक–परम्पराबाट आएको हो, यो उर्वराशक्तिको उत्पादकताको पूजा–सम्मान हो र नवरात्रमा गरिने कुमारी पूजा र बटुक कुमारको पूजामा पनि यही भावना अन्तरनिहित छ । फूलपातीका दिन भित्र्याइने नौथरी वनस्पतिलाई नवदुर्गा मानेर पूजा गरिन्छ, जो नवरात्र–उपासनाको मूल अंश हो र यसको पृष्ठभूमिमा पनि प्रकृति–पूजा र लोक–परम्परा नै छ । त्यसैले दसैंलाई समग्र लोकजनले आफ्नो परम्पराका रूपमा बुझ्नुपर्छ र अपनाउनुपर्छ भन्ने मलाई लाग्छ ।  कान्तिपुरबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)