Aamsanchar

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आगमन हुँदा अन्तराष्ट्रिय उडान प्रभावित हुने

Author Image
शनिवार, असोज २५, २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौँ आइपुग्ने छन् ।

राष्ट्रपति सी नेपाल र भारतको भ्रमणका लागि चिनियाँ समयअनुसार शुक्रबार बिहान भारततर्फ प्रस्थान गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्रो अनौपचारिक भेटवार्ता सकेर राष्ट्रपति सी नेपाल आउने छन् ।

यस्तो त सुरक्षा व्यवस्था
राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्वसन्ध्या देशका चारवटै सुरक्षा निकायले आफ्नो तयारी तीब्र बनाएका छन् । राष्ट्रपति सीको सुरक्षाको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुुसन्धान विभागका कर्मचारी तैनाथ रहनेछन् ।

नेपाली सेना पहिलो घेरामा
गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना अनुसार भीभीआईपी सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहनेछ । दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहने बताइएको छ ।

‘सुरक्षाको पहिलो घेरामा नेपाली सेनाको लिड हुन्छ,’ सैन्य प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले रातोपाटीसँग भने, ‘आवश्यकता अनुसार पर्याप्त सैनिक परिचालन गर्ने गरी सुरक्षा योजना बनेको छ ।’ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा योजना निर्माण भएको सैन्य प्रवक्ता पाण्डेले बताए ।

अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७० अनुसार गृह मन्त्रालयले तयार गरेको सुरक्षा योजना अनुसार दोस्रो घेरामा नेपाल प्रहरी रहने छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्मेलन अवधिभर भीभीआईपीको मुभमेन्ट हुने स्थानहरुमा कुल १६ हजार प्रहरी परिचालित हुनेछन् ।

राष्ट्रपति सीको सुरक्षाको लागि तेस्रो घेरामा सशस्त्र प्रहरी बल परिचालित हुनेछ । भीभीआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले सुरक्षा गर्नेछन् ।

राष्ट्रपति सीको सुरक्षाको लागि करिब दुई दिन गरेर ७ हजार भन्दा बढी सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरु परिचालित हुने सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता सुरज श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा बिहीबार ग्रान्ड रिहर्सल समेत भएको छ । दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म त्रिभुवन विमानस्थलमा रिहर्सल भएको थियो ।

रिहर्सल राष्ट्रपति सीलाई बस्ने होटलसम्म कसरी लैजाने भन्नेबारे अभ्यास गरिएको हो । सीको सुरक्षाका लागि चीनबाटै हतियारसहित विशेष सुरक्षा टोली आउनेछ ।

सीको यात्राका बेला तिब्बती शरणार्थीबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर सम्भावित क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षा परिचालन कडा बनाइएको छ ।

अन्तर्राष्ट्रिय उडान प्रभावित हुने
राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ । भीभीआईपी उडानका कारण दुई दिन शनिबार र आइतबार दर्जनौँ अन्तर्राष्ट्रिय उडान घण्टौं डिले हुने भएका छन् ।

त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी सवार जेट विमान आउने बेला दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुने छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर