Aamsanchar

नेपालमै उत्पादन भयो प्रति केजि १० लाख पर्ने केशर फूल

Author Image
आइतवार, कार्तिक ३, २०७६

ललितपुर। प्रतिकिलो दश लाख रुपैयाँ मूल्य पर्ने केशर नामको जडिबुट्टी इलाममा उत्पादन भएको छ । माईजोगमाई गाउँपालिका ६ प्याङको थुम्केडाँडा र जौबारी क्षेत्रमा स्थानीय जौबारी मल्टी पर्पोज एग्रीकल्चर एण्ड इन्भाइरोमेण्ट सेण्टरले केशरको खेती शुरु गरेको हो । यही असोज २७ गते सोमबार गाउँपालिकाका प्रमुख जीतबहादुर राईसहित उक्त संस्थाका प्रतिनिधीले पहिलो पटक उत्पादित केशरको फूल टिपेका थिए ।

यो उचाईमा हुन्छ अथवा हुँदैंन भन्ने अन्यौलका बीच सफल भई उत्पादन शुरु गरेको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतवहादुर राईले कृषि पत्रिकालाई जानकारी दिए। गाउँपालिका र जौबारी मल्टी पर्पोज एग्रीकल्चर एण्ड इन्भाइरोमेण्ट सेण्टरले परीक्षणका लागि भारतको कास्मीरबाट दुई मन केशरको बीउ ल्याएर थुम्के र जौबारीमा लगाएको थियो।

पहिलो पटक उच्च मूल्ययुक्त जडिबुटी केशरको फूल टिप्न पाएकोमा गाउँ प्रमुख जीतबहादुर राईले खुशी ब्यक्त गरे । परीक्षणमै आशलाग्दो नतिजा आएको भन्दै उनले प्रदेश १ मै पहिलो पटक आफ्नो गाउँमा केशरको व्यावसायिक खेती शुरुवात भएको दाबी गरे । उनले कृषि पर्यटन र स्थानीयको आयआर्जन भई सम्बृद्धिको ढोका खुल्ने विश्वास ब्यक्त गरे । थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने १५०० देखि २५०० मिटरको उचाई केशर खेतीका लागि उपयुक्त मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर