Aamsanchar

कोल्ड स्टोरमै कुहियो आलु लगायतका वस्तु

Author Image
मङ्गलवार, कार्तिक ५, २०७६

२०७६ कात्तिक ५ गते ।

झापा, ५ कार्तिक

झापाको बिर्तामोड नगरपालिकामा रहेको रोयल कोल्ड स्टोरेजमा राखिएको लाखौँ मूल्यको कृषिजन्य सामग्री कुहिएको छ । स्टोरेज सञ्चालकको लापरवाहीका कारण भण्डारण गरेको लाखौँ मूल्यको कृषिजन्य सामग्री कुहिएको हो ।

तीन दिनदेखि मेशीन बिग्रिएकाले कृषक तथा व्यवसायीले राखेको करोडौं मुल्यका कृषिजन्य सामग्री कुहिएको हो । आलु खनेर गोदाममा ल्याएर राखेका किसान बिउ रोप्ने बेलामा कुहिएको पाएपछि निरास बनेका छन् । अब आलुको बीउ बजारमासमेत नपाउँने चिन्ता उनीहरुमा बढेको बताउँछन् ।
झापा गाउँपालिकाको न्यू देउमाई कृषि सहकारी संस्थाले स्टोरेजमा ५ सय २४ बोरा आलु भण्डारण गरेको थियो । अधिकांस आलु काम नलाग्ने भएको सहकारीका लेखा समिति संयोजक शरदकुमार तिम्सिनाले बताए । “प्रत्येक बोरामा ५० केजी आलु छ, तीनबोरा आलु छान्दा एक बोरा मात्र प्रयोग गर्न सकिने अवस्थाको पाइयो” तिम्सिनाले भने, “तर, उक्त आलु्को ल्याब परीक्षण गर्दा ढुसी लागेको भेटियो, यसमा उमार शक्ति कम हुने, उम्रिएपनि बोट डढ्ने, उपचार मंङगो हुने लगायतका समस्या आउने रहेछन् ।” स्टोरेज अगाडि आलु छान्दै गरेको अवस्थामा भेटिएका उनले गत चैत्रमा एक सिजनको प्रतिकिलो ६ रुपैंयाँका दरले आलु भण्डारण गरेको बताए ।

सहकारीले भण्डारण गरेको ५ सय २४ बोरा आलुमा २ सय ७७ बोरा सहकारीले नै रोप्ने र २ सय ७४ बोरा आलुको बिउ बिक्री गर्ने लक्ष्य राखेको तिम्सिनाले बताए । “१६ लाख ५० हजार रुपैंयाँ बराबरको आलुको बिउ नष्ट भएको छ, क्षतिपुर्ति दिन्छौँ भनेको छ” तिम्सिनाले भने, “क्षतिपुर्ति पाएपनि यो जातको बिउ नपाउने चिन्ता हामीमा छ ।” आलु रोप्नका लागि अन्य बाली नलगाई जमिन खाली राखेका थियौँ, स्टोरेजको लापरवाहीले आलुमात्र कुहिएन सहकारीको बचत, शेयर, लगानी र फाइदा समेत डुब्यो, तिम्सिनाले भने, “सहकारीले काभ्रेको खुमलटारबाट आलुको मुल बिउ ल्याएर खेति शुरु गरेको थियो ।”
सहकारीले झापालाई आलुको बिउमा आत्मनिर्भर बनाउने उद्देश्यले आलुको बीउ उत्पादन सुरु गरेको सहकारीमा १ सय ६५ जना कृषक आवद्ध रहेका छन् । पाँच वर्ष भित्रमा १५० विगाहमा आलुको बिउ उत्पादन गर्ने लक्ष्य राखे पनि पहिलो वर्ष नै घाटा बेहोर्नु परेको तिम्सिनाले बताए । गत वर्षदेखि सहकारीले उन्नत जातको आलुको बिउ उत्पादन गर्न सुरु गरेको थियो ।

इलामको सुर्याेदय नगरपालिकाका किसान जीवन मुखिया, खड्ग मुखिया पनि बिउ आलु नै कुहिएपछि यो बर्षको आलुखेती प्रभावित हुने बताउँछन् । उनीहरुले १० बर्षदेखि बिउ आलु कोल्ड स्टोरमा भण्डारण गर्दै आएका थिए । ठुलो परिणाममा आलुको बिउ कुहिएपछि अर्काे बर्षदेखि कोल्ड स्टोरमा नल्याउने उनी बताउँछन् । उनीहरुले गत वैशाखमा २५ मन आलु कोल्ड स्टोरेजमा राखेका थिए । अहिले उक्त बिउ आलुको मुल्य ४ हजार रुपैंयाँ प्रतिमन रहेको उनले बताए । मंङगो मूल्यमा बिउ किनेर आलु खेति गर्दा अपेक्षित फाइदा नहुने भएका कारण यो वर्ष गत सालको जस्तो धेरै आलु नरोप्ने उनले बताए । स्टोरेज सञ्चालकको लापरवाहीका कारण किसानले घाटा बेहेर्नु परेको मुखियाले बताए । राज्यलेसमेत स्टोरेजको नियमन गर्न नसक्दा समस्या भएको किसानको भनाई छ ।

त्यस्तै, बिर्तामोडका ब्यवसायी सुदर्शन खतिवडाले ५ लाख रुपैयाँको लगानीमा खरिद गरेको फ्रेस क्रिम (केक बनाउन प्रयोग गरिने)मा पनि क्रिममा ढुसी पलाएपछि क्षतिपुर्तिको माग गरेका छन् । बिरगञ्जबाट ल्याएर भण्डारण गरेको सो क्रिममा ढुसी पलाएपछि बजारबाट फिर्ता आएको बताए । “पञ्चामृत डेरीलाई अलिकति क्रिम पठाएको थिए” खतिवडाले भने, “डेरीले क्रिममा ढुसी परेको भन्दै फिर्ता गरेपछि यहाँ आएर चेक गर्दा सबै क्रिम काम नलाग्ने भएको रहेछ ।”
स्टोरेज परिसरमा भेटिएका फुल ब्यापारी पिन्टुु शाहले राख्ने कि नराख्ने भन्ने अन्यौलका बीच सयपत्री फुलको माला भण्डारण गरेको बताए । “यत्रो आलु कुहिएको छ, ४० हजार भारुको फुल हो यो, बिग्रिने पो हो कि भन्ने चिन्ता छ” शाहले भने, “सिलिगुडीबाट ल्याइहालियो, अब कुहिएपनि घाटा भए हुन्छ भनेर भण्डारण गरेको छु ।” उनले प्रत्येक वर्ष दिपावलीमा भारतीय बजारबाट ठुलो परिमाणमा फुल ल्याएर कोल्ड स्टोरमा भण्डारण गर्ने गरेका छन् ।
पाँच तले स्टोरेजको अधिकांस तलामा आलुको बिउ भण्डारण गरिएको छ । आलु कहिएपछि स्टोरेज भवन परिसरमा खाल्डो खनेर पुर्न थालिएको मेनेजर प्रेम तिवारीले बताए । उनले केही दिन अघि मेशीनमा समस्या आएपछि त्यो समयमा नबन्दा त्यहाँ राखिएका आलु सहितका सामग्री कुहिएको जानकारी दिए । सञ्चालकसँग छलफल गरेर क्षतिपुर्तिको बारेमा टुङगो लाग्ने जानकारी तिवारीले दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर