

बिर्तामोड कार्तिक १४ गते । चोरी गरेको ठुलो परिणामको सुन र चाँदिका गहना सहित १ भारतीय पक्राउ परेका छन । भारतको सिलिगुडी घर भएका ४३ बर्षीय रघुबरप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो ।

झापाको कमल गाउँपालिका ६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने ललिता सापकोटा, गिता पौडेल र मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही नभएको अवस्थामा चोरी भएको भन्ने जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीले घटनास्थल आसपासमा रहेको सि सी क्यामरा फुटेज हेरी अनुसन्धान खोजतलास गर्दा साहको साथबाट गरगहना फेला परेको थियो । उनलाई बिर्तामोड ५ बाट पक्राउ गरिएको हो ।

पक्राउ परेका साहले प्रयोग गरेको WB 74 AM 2724 नम्बर प्लेटको भारतिय गाडी चेकजाँच गर्ने क्रममा सो गाडीबाट लाखौ मुल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली रुपैयाँ ३८ हजार र भारतिय रुपैयाँ १३ हजार ७ सय बरामद भएको थियो । बरामद भएको गर गहनाहरु सम्बन्धीत पिडितहरुबाट सनाखत गराएको र सामान सहित पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


