Aamsanchar

आलमलाई जन्मकैद, आज मुद्दा दर्ता हुँदै

Author Image
सोमवार, कार्तिक १८, २०७६


कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता हुँदै छ । प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार दिउँसो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । त्यसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ । पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए । सोही योजनाअनुसार काका शेख इद्रिसको गोठमा बम बनाउँदाबनाउँदै विष्फोट भयो । सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ । उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

दुई विकल्प

पीडित परिवारले आलमलाई तत्कालीन मुलुकी ऐनअनुसार सर्वस्वसहित जन्मकैदको माग गरेका थिए । तर, २०७४ सालमा आएको नयाँ मुलुकी अपराध संहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन । त्यसैले प्रहरीले आलमलाई आजीवन काराबासको सजायँ मागदाबीसहित सरकारी वकिलको कार्यालयमा राय पेस गरेको छ । मुलुकी अपराध संहिता लागू हुनुभन्दा अगाडिको घटना भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैदको मागदावीको विकल्प पनि दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्तासमेत रहेका डीएसपी नवीन कार्कीले जानकारी दिए ।त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँको हत्या कसुरमा आलमलाई २५ वर्ष जेल, बम विष्फोटमा घाइते भएर बाँचेका सर्लाहीका सखी मोहम्मदको केसमा ज्यान मार्ने कसुरअन्तर्गत १० वर्ष जेल र विष्फोटक पदार्थ बनाएको कसुरमा पनि १० वर्ष जेल सजाय दिन प्रहरीले माग दाबी गरेको जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले बतायो । प्रहरीको मागदाबीअनुसार अदालतले फैसला गरेमा आलमलाई ४५ वर्षसम्म जेल सजायँ हुनसक्छ ।

साक्षी बसे तत्कालीन प्रहरी महानिरीक्षक राणा

प्रहरीको अनुसन्धान रिपोर्टमा तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई साक्षीका रुपमा पेश गरिएको छ । प्रहरीलाई उनले गरिदिएको कागजमा आफूलाई घटनाबारे जानकारी भएको र तत्कालै कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको उल्लेख छ । प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहित अन्य १० जनाविरुद्ध पनि मुद्दा चलाउन लागेको छ । मोबिन आलम, शेख भई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहविरुद्ध मुद्दा चलाउन लागिएको हो । बम विष्फोटमा घाइते भएकाहरुलाई जलाइएको इँटाभट्टाका मालिक मुक्ति साहलाई मतियारको रुपमा मुद्दा चलाइँदै छ । प्रमाण नष्ट गर्ने उद्देश्यले इँटा भट्टा मासेर हाल धान खेत बनाइएको छ ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर