

विराटनगर : सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी अवैध रूपमा लागूऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नं. ढाटबाट लागूऔषधसहित सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउने सप्तरी राजबिराज नगरपालिका– २ राजदेब टोलका २६ वर्षीय कपिल यादबलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका यादवले स १ ब १४१० नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाईकल प्रयोग गरी लागूऔषध ल्याउने क्रममा चेकजाँचको क्रममा लागुऔषध नियन्त्रण व्यूरो विराटनगरको विशेष टोलीले पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । यादवले लागूऔषध ल्याउन प्रयोग गरिएको मोटसाइकल डिभिजन वन कार्यालय उदयपुरको रहेको बुझिएको छ । यादवका बावु सत्यनारायण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् ।

वावुले प्रयोग गर्ने सरकारी नम्बर प्लेटको ‘हिरो’ कम्पनीको मोटसाइकल लिएर आइतबार कपिल जोगवनी आएका थिए । लागूऔषध लिएर गन्तब्यतर्फ फर्कने क्रममा प्रहरीले चेकजाँचको क्रममा यादबलाई पक्राउ गरिएको हो । ‘शंका लागी रोकी चेकजाच गर्ने क्रममा सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा लागूऔषध भेटिएको हो,’ डिएसपी श्रेष्ठे भने, ‘कम्मर पेटीको लाइनमा लुकाई छिपाई ल्याएको अवैध लागूऔषध यादवको साथबाट प्रहरीले बरामद गरेको हो ।’ प्रहरीले उनको साथबाट डाईजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल अवैध लागूऔषध लुकाई छिपाई ल्याएको अबस्थामा बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।


