

रुकुम पश्चिम । रुकुम पश्चिमका एक युवाले जेलभित्र निःशुल्क खान, बस्न पाइने भएकाले रहरले चोरी गर्ने गरेको प्रहरी समक्ष बताएका छ्न् ।

मुसीकोट नगरपालिका–१, खलंगाको त्रिवेणी चोकमा रहेको एउटा मोबाइल पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका मुसीकोट नगरपालिका—२, रातामाटाका २० वर्षीय राजु परियारले जेलमा कामै नगरी खान, बस्न र दिनरात बिताउन पाइने भएकोले चोरी गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार परियारले कार्तिक १६ गते रातको समयमा त्रिवेणी गाउँपालिका–५ का निर्मल विकको मोबाइल पसलमा चोरी गरेका थिए । परियारलाई मुसीकोट नगरपालिका–१, खलंगाबाटै पक्राउ गरिएको र उनको साथबाट तीन थान मोबाइल, तिन थान मोबाइलको ब्याट्री र चार हजार तीन सय ८० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा परियारले यस अघि पनि चोरीको मुद्दामा कैद भुक्तान गरिसकेको र जेलमा निःशुल्क खान र बस्न पाइने भएले फेरि चोरी गरेको खुलेको डीएसपी खड्काले बताए । परियार यसअघि खलंगाको एक घरमा चोरी गरेको मुद्दामा तीन वर्ष कैद भुक्तान गरिसकेको थिए ।
उनीमाथि चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

