Aamsanchar

बिराटचौकमा ‘गो ब्याक इण्डिया’, को नारा प्रर्दशन

Author Image
शुक्रवार, कार्तिक २२, २०७६

विराटचौक । नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा बिहीबार बिराटचौक र विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । बिराटचौकमा नेपाली काँग्रेस निकट नेबिसंघ क्षेत्र नम्बर ३,नेपाल तरुण दल लगायतले बिरोध गरेका हुन भने स्वतन्त्र युवा समुह विराटनगर मोरङले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै नेपाल–भारत सीमा क्षेत्र विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा विरोध प्रर्दशन गरेको हो । बिराटचौकको प्रर्दशनमा भारतबिरुद्ध नाराबाजी समेत गरिएको छ । नेबिसंघका होमनाथ पोख्रेल,सुमन ढकाल लगायतको नेतृत्वमा रयाली निकालिएको थियो । बिराटनगरमा ‘देशभरका सम्पूर्ण राष्ट्रभक्त युवा एकजुट होऔँ’ भन्ने नाराका साथ विरोध सभा गरिएको थियो । ‘गो ब्याक इण्डिया’ को नारा र ब्यानरसहित प्रदर्शन गरियो । प्रदर्शनका क्रममा बोकिएको प्लेकार्डमा ‘भारतीय विस्तारवाद मुर्दावाद, ‘हाम्रो सीमाना मिचेको हो कि बेचेको रु’, ‘नेपाली हामी रहन्छौं कहाँ, नेपालै नरहे’ र ‘सरकार किन मौन रु’ लगायतका नारा लेखिएका थिए । प्रदर्शनपछि विराटनगर रानी बसपार्क नजिकै आयोजित कोणसभामा बोल्दै विद्यार्थी तथा युवा नेताहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् । युवाहरूले सीमा मिचिँदा गोर्खालीहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन् । अनेरास्ववियुका केन्द्रीय सचिव ओसिम आलमले नेपालीहरु मित्र राष्ट्रहरुसँग मित्रता राख्ने भए पनि एक इन्च पनि भूमि कब्जा गर्न खोज्नेलाई प्रतिवाद गर्न सक्षम रहेको चेतावनी दिए । ‘नेपाली मित्रतापूर्ण व्यवहार मित्रराष्ट्रसँग गर्न चाहन्छन्,’ उनले भने, ‘तर यसको फाइदा उठाउँदै नेपाली भूमि आफ्नो पार्न नखोजिओस ।’ स्वतन्त्र युवा समूहका अध्यक्ष मोहम्मद हमिद आजादले नेपाली भूमि कब्जा गर्ने दुष्प्रयास भइरहँदा सरकार कडा रुपमा प्रस्तुत हुन नसकेको बताए । तर जनता कडा रुपमा प्रतिवाद गर्न तयार रहेको उनको भनाइ छ । नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गर्नु आपत्तिजनक रहेको बताउँदै आजादले आफ्नो भूमिका लागि नेपाली जनता जस्तो पनि मूल्य चुकाउन तयार रहेको चेतावनी दिए । भारतले नेपालको भू–भाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छन् । पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्प्याधुरा लगायतको क्षेत्र भारतले आफ्नो नक्सामा समेटेपछि देशभर अहिले आन्दोलन भइरहेको छ ।

Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर