Aamsanchar

ईटहरीमा ६ लेन सडक विस्तार, पहुँचवालाको हितमा बाटो बनाएको भन्दै विरोध

Author Image
बिहिवार, कार्तिक २८, २०७६

सुनसरी । रानी–विराटनगर–इटहरी–धरान अन्तर्गत निमार्णधिन सडक ईटहरीमा लामो समयदेखि विवादका कारण रोकिएको थियो । इटहरीको मुख्यचोक क्षेत्रमा मनपरी मापदण्ड बनाएको भन्दै हाल चौतर्फी विरोध भएको छ । इटहरीको धरानलाइनमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीबासीले विरोध गरेका हुन् ।

मनपरी मापदण्ड कायम गरेको भन्दै स्थानिय सुनिल कार्कीले राज्यका लागि सबै जनता समान हैनन् र ? भन्ने प्रस्न गर्दै के सम्पत्ति र पहुँचका आधारमा राज्यले जनतालाई फरक व्यवहार गर्न मिल्छ ?भनेका छन । ।

नेकपाका युवा नेता मदन चूडालले पनि इटहरी क्षेत्रमा मनपरी मापदण्ड तत्काल रोक्न माग गरेका छन् । सरकारको अर्बौं रुपैयाँको योजनामा खेलाँची भइरहेको भन्दै तत्काल अनुगमन गरेर काम रोक्न माग गरे । सरकार र आयोजनाको बेवास्ताको कारण मनपरी मापदण्ड भएको भन्दै उनले आपत्ति जनाएका हुन । इटहरीमा पहुँचवालाको घरअगाडि एउटा मापदण्ड र अर्को ठाउँमा अर्कै मापदण्ड गर्न नहुने उनले बताए ।

इटहरी र तरहरा क्षेत्रमा फरक–फरक मापदण्ड बनाएको भन्दै गोरखा डिपार्टमेण्ट स्टोरअगाडि गालीगलौज गरेको आरोपमा तरहराका नवराज मैनाली पक्राउ परेका छन् । उनले इटहरी र तरहरा क्षेत्रमा एउटै मापदण्डमा काम गर्न माग गरेका थिए । तरहरा र इटहरी चौक एउटै बाटोमा जथाभावी मापदण्ड बनाएको भन्दै उनले विरोध जनाएका थिए ।

इटहरीको तरहरा क्षेत्रमा सडक विस्तार साढे ८२ फिट नै कायम गरे पनि इटहरीको मुख्यचौकमा भने ठूला व्यापारीको पहुँचले ६५ फिट मात्र किन बनाएको भन्दै मैनालीले डिपार्टमेण्टको सटर तानेका थिए । उनलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । मुख्यबजार क्षेत्रमा रहेका धेरै घरहरू भत्कने भन्दै बाटो सानो बनाउन ठूलाबडा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । रानी–विराटनगर–इटहरी–धरान ३९ किलोमिटर सडक–खण्डमध्ये ३४ किलोमिटरमा काम भइरहेको जनाइएको छ । सो सडक योजनाको काम आगामी असार मसान्तसम्ममा सम्पन्न गरिसक्नु पर्ने भए पनि इटहरीमा सीमा कायम गर्ने कामसमेत हुन सकेको थिएन ।

यता ६ लेन सडक आयोजनाका इञ्जिनियर गौतम देवले भने जग्गा अनुसारको मापदण्ड फरक भएको स्वीकार गरे । इटहरी चौक र तरहरा आँपगाछी आसपासमा फरक मापदण्ड भएको देव बताउँछन् । इटहरीको मुख्य चौकमा हाल ६५ फिट मात्र कायम हुने सहमतिअनुसार सडक विस्तारको काम भइरहेको देवको भनाइ थियो ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर