Aamsanchar

कस्को कमजोरी छ ? ६ लेन सडक विस्तार गर्ने क्रममा इटहरीमा विरोध

Author Image
शनिवार, कार्तिक ३०, २०७६

इटहरी :  व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विराटनगर–धरान सडकखण्ड निर्माण कार्य चलिरहेको छ। इटहरीमा भने सडक विस्तारका क्रममा कसैलाई काखा र कसैलाई पाखा गरिएको भन्दै सडकदेखि सामाजिक सञ्जालसम्म विरोध चुलिएको छ।

इटहरी बजार क्षेत्रमा सडकले लिने जग्गा ‘क्लियर’ नहुँदा केही समयदेखि स्थगित भएको काम पाँच दिनअघि सुरु गरिएपछि तरहरा क्षेत्र र इटहरी बजार क्षेत्रमा फरक–फरक मापदण्डमा निर्माण भएको भनी विरोध सिर्जना हुन पुग्यो। नेपाल कम्युनिस्ट पार्टी नेकपा इटहरीले त विज्ञप्ति नै जारी गरेर तरहरा र इटहरीमा समान ढंगले सडक विस्तार गर्न माग गरेको छ। यसरी सर्वत्र भइरहेको आलोचनाको छ लेन सडक विस्तार आयोजनाले भने बचाउ गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी आयोजनाले सडक चौडाइको हिसाबले तरहरा र इटहरी चौरास्ता चोकको बजारभन्दा उत्तरतर्फ एउटै डिजाइनमा भएको प्रस्ट्याएको थियो।

आयोजनाले इटहरी चौरास्ता चोकदेखि दक्षिणतर्फ भने उत्तरतर्फको भन्दा डिजाइन फरक भएको जनाएको छ। तरहरादेखि दक्षिणतर्फ सडक विस्तार गर्ने क्रममा जहाँजहाँ खाली छ, त्यहाँत्यहाँ सडकले आफ्नो क्षेत्राधिकारको जग्गा सडकको केन्द्रबाट दुवैतर्फ २५–२५ मिटर लिएकाले कतिपयमा गलत बुझाइ प्रवाहित भएको आयोजनाका कर्मचारीको भनाइ छ।

‘नालाको बाहिरी भागसम्म सडकको केन्द्रबाट दुवैतर्फ साढे २० मिटरका हिसाबले विस्तार गरिएको छ,’ छ लेन सडक विस्तार आयोजनाका इन्जिनियर गौतमकुमार देवले भने, ‘अहिले डिजाइनअनुसार काम भइरहेकाले सडक विस्तार गरेपछि सडकको क्षेत्राधिकारभित्र पर्ने जग्गा जुनसुकै बेला सरकारी निकायले लिन सक्छ।’ उनका अनुसार, अहिले सडक विस्तारका लागि डिजाइनअनुसारको जग्गा पुग्ने हुँदा इटहरी चौरास्ता चोकभन्दा उत्तरतर्फको घर भत्काउनुपर्दैन। तर सडकको क्षेत्राधिकारभित्र पर्ने पाँच मिटर र व्यक्तिले छाडनुपर्ने छ मिटर जग्गा सडकले चाहेको बेला पनि लिन सक्छ।

‘तरहरादेखि इटहरीको चौरास्ता चोकसम्म एउटा र चौरास्ता चोकदेखि दक्षिण विराटनगरको रानीसम्म अर्को डिजाइनको सडक बनिरहेको छ,’ उनले भने। इटहरी चौरास्ता चोकभन्दा दक्षिणतर्फ केही घरधनीले सर्वोच्च अदालतबाट रोक्का आदेश लिइसकेका छन्। ती घर भत्काउन सरकारले क्षतिपूर्ति वा मुआब्जाको निर्णय गरेपछि मात्र सडक विस्तार सम्भव हुनेछ।

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर