Aamsanchar

दैलेखमा पेट्रोलियम पदार्थको खोजी तिब्र, ४.५ किमिसम्म ड्रिल गर्ने तयारी

Author Image
शुक्रवार, मंसिर ६, २०७६

दैलेख । नेपालको भाग्य र उज्जवल भविश्यको सम्भावना रहेको दैलेखको पादुकास्थानमा पेट्रोलियम पदार्थ खानी अनुसन्धान धमाधम चलिरहेको छ । नेपाल सरकार खानी तथा भुगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको सयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको हो । लामो समय देखि खोलाको पानीमा तेल जस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक चीन भ्रमणमा जाँदा चीन सरकारलाई अनुसन्धानका लागि आग्रह गरेका थिए। अहिले नेपाली र चिनियाँ टोलीले सयुक्त रुपमा अध्ययन गरिरहेको छ ।

पेट्रोलियम पदार्थको अन्वेषणकालागि यो नेपालमा भएको पहिलो अध्ययन होइन । यसअघि २०४५ सालमा मोरङ बाहुनीमा पनि पेट्रोल खानीको खोजी गरिएको थियो । त्यतिबेला सेल ट्राइटा कम्पनीले साढे तीन ९३.५० किलोमिटर गहिराइसम्म खन्दा पनि पेट्रोलियम पदार्थ नभेटिएपछि खोजी बन्द भएको थियो । विश्व भरिनै पेट्रोलियम पदार्थ भएको अनुमान गरिएको भएपनि थोरै ठाउँमा मात्रै यो भेटिने गरेको छ । अनुमान गरिएको ठाउँमा १० प्रतिशत मात्रै पेट्रोलियम पदार्थ पाइएको अन्तराष्ट्रिय अनुभव छन् । केही महिना अघिको पाकिस्तान पनि यसको उदाहरण हो ।

विशेषगरि पेट्रोलियम पदार्थ पृथ्वीको सतहमा रहेका सुक्ष्म वनस्पति तथा जीवहरु जमिनमुनि पुरिएर बन्ने हो । जमिन मुनि चाप वा दबाब र लामो समयसम्म हुने रासायनिक प्रतिकृयाले वनस्पती र जीवहरु पत्रे चट्टानमा परिणत हुन्छन् । पत्रे चट्टानमा संकलित जैविक पदार्थ ९० देखि १७५ डिग्री सेल्सियस तापक्रम र उच्च दबाबका कारण लाखौ वर्षपछि जैविक र रासायनिक प्रतिकृयाको कारणले पेट्रोलियम पदार्थमा परिणत हुन्छ । नेपाल पनि त्यो संभावना रहेकाले पेट्रोलियम पदार्थ पाइने संभावना भएको देश मानिन्छ ।

अहिले अन्वेषण गरिरहेको टोलीले जमिनको ‘एक्स’रे गरिरहेको छ । ड्रिल गर्न सकिने सजिलो ठाउँ पत्ता लगाएपछि मात्रै ड्रिलिङको काम सुरु हुन्छ । ड्रिलिङ गरेर पेट्रोलियम पदार्थ भए नभएको र परिणाम पत्ता लगाउन अझै एक वर्ष लाग्ने विज्ञहरुको भनाई छ । दैलेखमा ४.५ किलोमिटरसम्म ड्रिल गर्ने योजना अनुसार काम भइरहेको छ । त्यति ड्रिल गर्दा पनि पेट्रोलियम पदार्थको भण्डार भेटिएन भने काम अघि बढ्दैन र अहिलेसम्मको सबै मेहनत खेर जानेछ ।

ड्रिल गरेपछि मात्रै कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ, खानी भेटिएपछि पनि त्यसको आर्थिक विश्लेषण हुन्छ । त्यसपछि मात्रै उत्पादन गर्ने नगर्ने निर्णय हुन्छ । भण्डार ठुलो रहेछ भने मात्रै उत्पादन सुरु हुन्छ । उत्पादन कम हुने र खर्च बढी लाग्ने अवस्थामा उत्पादन गरिदैन । नेपालमै उत्पादन गर्दा अहिलेको बजार मूल्य भन्दा सस्तो भएमा मात्रै त्यो आर्थिक रुपमा फाइदाजनक हुनेछ ।

तेल उत्पादन भने भुगर्भ विभागले गर्दैन। विभागले पेट्रोलियम पदार्थको मात्रा पत्ता लगाउने मात्र हो। सरकारले कुनै अन्य कम्पनी वा संस्थालाई उत्पादनको जिम्मेवारी दिन्छ । पहिलो एक वर्ष ड्रिल गरेर भण्डारको मात्रा पत्ता लगाएपछि उत्पादन सुरु गर्न अर्का एक वर्ष गलाग्ने भनाई छ । नियमित काम भएमा अबको तीन वर्ष पछि पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने विज्ञको भनाई छ। अहिले अध्यायन भइरहेको दैलेखमा चिनियाँ कामदारले काम गरिरहेका छन् । ३० वर्ग किलोमिटर क्षेत्रफलमा ड्रिल कहाँबाट गर्ने भन्ने अध्यायन भइरहेको छ । पछिल्लो समय नेपालमा सबैभन्दा बढी आयात हुने बस्तुमा पेट्रोलियम पदार्थ नै पर्छ । गत आर्थिक बर्षमा झण्डै दुई खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भयो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)