Aamsanchar

नगरपालिकासँग सवैको सहकार्य र समन्वय हुन आवश्यक रहेको नगरप्रमुखको भनाई

Author Image
शनिवार, मंसिर ७, २०७६

मेचीनगर, ७ मंसिर:  मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरको विकास निर्माणका काम र समृद्ध नगर बनाउन नगरका हरेक क्षेत्रको साथ सहयोगको उत्तिकै आवश्यकता रहेको बताएका छन् ।

शनिबार आफ्नै कार्यकक्षमा स्थानीय सञ्चारकर्मीहरुको भेटघाटमा नगरप्रमुख आचार्यले नगरका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, अधिकारकर्मी, नगरका कार्यपालिका सदस्य, कर्मचारीलगायत सवैको साथ सहयोग नभए नगरप्रमुखले मात्र काम गर्न सम्भव नभएको बताए ।

अहिले सांसददेखि हरेक जनप्रतिनिधिहरु आफुले जस पाउने काममा मात्र व्यस्त रहेको टिप्पणी गदैं नगरप्रमुख आचार्यले आफुले मात्र जस लिने प्रवृत्तिका कारण नगरका धेरै योजना अपहरणमा परेको आरोप लगाए । नगरपालिकाको पहलमा ल्याएको योजना मैले ल्याएको भन्दैं होडवाजी चलेको र प्रचारमुखीमा लागि परेको उनको आरोप थियो ।

नगरपालिकालाई वाइपास गरेर कसैले पनि एकलौटीरुपमा अघि बढ्नुले सन्देश राम्रो नजाने उनको भनाई छ । अहिले जिल्लाका अरु स्थानीय तहमध्ये मेचीनगर नगरपालिका विभेदमा परेको दुखः व्यक्त गरे । विभेदकारी भूमिकाले नगरको विकास नहुने भन्दैं आचार्यले गतवर्ष धेरै नगरका योजनाहरु नपरेको, स्माट सिटी योजना काटिएको, धेरै रकम फ्रिज भएर गएकोमा चिन्ता व्यक्त गरे । १ नम्बर क्षेत्रको आफ्नो नगरक्षेत्रभित्र शुरु भएको जनता आवस कार्यक्रम सरकारको भएपनि पार्टीकै मात्र भएको भान परेको भन्दैं यस कार्यमा स्थानीय तहसँग सहकार्य समन्वय नगरेकोमा दुःख व्यक्त गरेका थिए ।

‘यो कार्यक्रम कुनै एउटा दलको मात्र थिएन’ नगरप्रमुख आचार्यले भने ‘तर नगरपालिकासँग सहकार्य समन्वय नै भएन यसमा दुःख लागेको छ , यसले राम्रो सन्देश पनि जादैन । ’ नगरपालिकालाई अप्ठयारोमा पार्र्ने काम कसैले पनि गर्न नहुँने तर्क उनको थियो । देशका विभिन्न ठाउँमा भारतले नेपालको भूमि मिचेको समाचार बाहिर आइरहेका बखत नगरपालिकाले भारतसँग सीमा जोडिएको क्षेत्रको सञ्चारकर्मीसहित स्थलगत अवलोकन गरेर सीमा स्तम्भ, भूमिको व्यवस्थित गर्ने बताए । मेचीनगरसँग भारतको सीमा ३४ किलो मिटर जोडिएकाले त्यसको नाप नक्शा गरेर सरकारको समेत ध्यानाकर्षण गराउने प्रमुख आचार्यको भनाई थियो ।

आफुबीच तालमेल नमिल्दा नगरले जसरी विकासमा फड्को मार्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाई छ । अहिले पनि नगरमा विकास निर्माणका काम धेरै अधुरा रहेकाले सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि आफुसहित उपप्रमुख मीना पोखरेल उप्रेती आइतबार काठमाण्डौ जाने तयारीमा रहेको उनले सञ्चारकर्मीहरुलाई जानकारी गराए । आवश्यक परे काठमाण्डौमा १ नम्बर क्षेत्रका संघीय सांसद् प्रदेश सभा सदस्यहरुसँग पनि समन्वय गर्ने बताए । नगरपालिकाका हरेक योजनामा उत्पन्न असमझारी, अन्योलता ढिलासुस्तीका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएर छिटो छरितोरुपमा काम सम्पन्न गराउने योजना रहेको नगरप्रमुख आचार्यले बताए ।

उनले पर्यटन वर्ष २०२० लाई सफल पार्न नगरस्तरीय समिति गठन, मंसिर महिनाभित्र प्रत्येक वडामा स्वास्थ्य सुविधाको व्यवस्था गर्ने, नवनिर्मित मेचीपुलका कारण विस्थापित मेचीडाडा वासीहरुलाई उचित राहत उपलब्ध गराउने, अहिले मेचीनगरको विभिन्न क्षेत्रमा देखिएको रैथाने हात्तीको आतंक नियन्त्रण गर्ने, खानेपानीको उचित प्रवन्ध मिलाउने, फोहोर मैला व्यवस्थापनमा लाग्ने, साईन्स सीटि, एन्फासँगको सहकार्यमा हुने प्रशिक्षण केन्द्रका बारेमा छलफल गर्नेलगायतका विषयमा नगरप्रमुख आचार्यले सञ्चारकर्मीहरुसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर