Aamsanchar

अक्षयकोष बनाउन रेडबुलका खाली बट्टा सङ्कलन

Author Image
आइतवार, मंसिर ८, २०७६


दमक । दमकका गणेशप्रसाद गौतम पेशाले ट्याक्सी चालक हुन् । उनको ट्याक्सीको डिक्कीमा कोही कसैले केही सामान राख्न खोज्दा उनको डिकीभरि रेडबुलका बट्टाहरू देख्छन् । ती रेडबुलका बट्टाहरू उनले आफै खाएर जतनसाथ राखेको भने होइन । बाटोमा भेटिएका वा अरूले बेवास्ता गरेर फ्याँकेका अनि उनैको ट्याक्सीमा सवार गर्ने यात्रुले सेवन गरेका रेडबुलका बट्टाहरू हुन् ।

उनी ट्याक्सी चालक मात्र होइन । सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक अभियानमा क्रियाशील दमकको जीवनचक्र समाज नेपालको अध्यक्षसमेत हुन् । संस्था सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न रेडबुलका बट्टा सङ्कलन गरेको उनले बताए । अभियानलाई नियमित रूपमा सञ्चालन गर्न सघाउ पुर्याउने उद्देश्यले आफ्नो छुट्टै अक्षयकोष स्थापना गर्न संस्था जुटेको उनको भनाइ छ ।

उनका अनुसार अक्षयकोष निर्माण गर्न संस्थाले रेडबुलको खाली बट्टा सङ्कलन अभियान चलाएको छ । जतासुकै फालिँदै आएको रेडबुलको बट्टा सङ्कलन गरेर त्यसबाट आम्दानी लिन थालिएको उनले बताए । उनले भने, ‘एक लाख रुपैयाँको कोष बनाउन रेडबुलका बट्टा सङ्कलन अभियान सञ्चालन गरेका छौं ।’ सङ्कलित रेडबुलको खाली बट्टा स्थानीय कवाडी पसलमा प्रतिगोटा १ रुपैयाँमा बिक्री गरिँदै आएको छ ।
हलुका सवारी चालकसमेत रहेका गौतमले दैनिक भाडामा दौडिने क्रममा भेटिएको रेडबुलको खाली बट्टा भेला पार्ने गरेको सुनाए । ‘संस्थाका सबै हामीले यसरी नै आफ्नो रोजीरोटीसँगै संस्थाको अक्षयकोष निर्माणमा यस्तो नौलो अभियान सञ्चालन गरिआएका छौं ।’ रेडबुलका बट्टा खोज्दै, बेच्दै कोष स्थापना गर्ने लक्ष्य राखेको उनले बताए । संस्था विगत पाँच वर्षदेखि दमक आसपासका क्षेत्रका सामाजिक अभियानमा सक्रिय छ । कहिले सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यमा त कहिले जीवनोपयोगी शिक्षाकोे प्रचारात्मक अभियानमा जुट्दै आएको संस्थाका सचिव वेनुप प्रसाईंले बताएका छन् । संस्थाको मुख्य उद्देश्य नै मानिसलाई समाजप्रति जिम्मेवार बनाउने अभियानमा रहेको बताउँछन् उनी ।

उनी भन्छन्, ‘सडक दुर्घटनाबाट अकालमै हुने मृत्युको कहालीलाग्दो घटनाविरुद्ध अभियानमुखी कार्य सञ्चालन गरेका छौं, सबैभन्दा मुख्य सूत्र नै सचेतना भएकाले त्यसैमा केन्द्रित हुँदैआएका छौं ।’ उनले अभियान अन्तर्गत विद्यालयसहित यातायात मजदुरहरूसँग कसरी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गरिआएको बताए ।

हलुका सवारी चालकहरू बढी आबद्ध रहेको संस्थाले दमकसहित झापाका विभिन्न क्षेत्रमा सडक दुर्घटनासहित सामाजिक सचेतना अभियानसम्बन्धी विभिन्न गतिविधिहरू गरिआएको छ । एघार जना विभिन्न क्षेत्रका युवाहरूको अगुवाइमा शुरु गरिएको संस्थाको अभियानमा दिनानु दिन सर्वसाधारणको सहभागिता बढ्दै गएको छ । संस्थाको नियमित कार्य गर्न आफ्नै स्रोत नभएपछि स्थायी कोष बनाउन रेडबुलका खाली बट्टा सङ्कलन कार्यक्रम शुरु गरिएको अध्यक्ष गौतम बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)