Aamsanchar

असइले (मादक पदार्थ सेवन) गरेर मापसे चेकजाँच गरेपछि

Author Image
आइतवार, मंसिर ८, २०७६


विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम अगाडि प्रहरी चौकी बरगाछी छ । असइ (प्रहरी सहायक निरीक्षक) को नेत्रृत्वमा रहने यो प्रहरीको आकर्षक युनिट मध्येमै पर्छ । प्रहरी अधिकारीसँग ‘सेटिङ’ मिलाउन नसकेमा इन्चार्ज बारम्बार परिवर्तन भइरहने युनिटमा पनि बरगाछी चौकी पर्छ । त्यही सिलसिलामा तीन दिनअघि मात्रै त्यहाँका पुराना इन्चार्ज परिवर्तन गरेर प्रमुख बनाएर पठाइएको थियो असइ ताराबहादुर बस्नेतलाई । असइ नरबहादुर खत्रीले पाँच महिना पनि इन्चार्ज चलाउन पाएनन् । उनलाई अन्यत्र पठाएर आकर्षक मानिएको यो चौकीमा पुग्न सफल भएका थिए बस्नेत । प्रहरी अधिकारीलाई राम्रै नजरना बुझाउने सर्तमा उनलाई त्यहाँ पठाइएको स्रोतले बतायो । तर राजमार्ग र आयल निगमसँग ‘सेटिङ’ मिलाएर नजरना असुल्ने केही प्रहरीका अधिकारीको योजना सफल हुन पाएन । बस्नेत उक्त युटिनमा तीन दिन पनि टिक्न नसक्दा यो योजना पूरा हुन नपाएको हो । केही प्रहरी अधिकारीको मिलेमतो र चलखेलमा तीन दिनअघि मात्रै इन्चार्ज बनाएर पठाइएका असइ बस्नेत कारबाहीका लागि तानिएका छन् । ड्युटीमा आफै मापसे (मादक पदार्थ सेवन) गरेर सवारी साधनका चालकको मापसे चेकजाँच गरिरहेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर उनीमाथि कारबाही अघि बढाउन अनुसन्धान थालिएको छ ।

विराटनगर–४ खारजीमा बिहीबारराति मापसे चेकजाँचमा खटिएका असइ बस्नेत आफैले मापसे गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिन डीएसपी राजकुमार खिँउजु पुगेका थिए । कोशी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट उनले मापसे गरेको पुष्टि भए पनि डीएसपी खिँउजुले भने मापसे गरेको प्रमाणित नभएको भन्दै बस्नेतको बचाउ गरेका छन् । ‘हामीले आवश्यक अनुसन्धानका लागि जिल्लामा ल्याएका छौं,’ उनले भने, ‘मापसेको पुष्टि भइसकेको छैन ।’ तर अस्पतालले भने मापसे गरेको प्रमाणित गरिदिएको छ ।

खिँउजु आफै घटनास्थलमा पुग्दा प्रहरीको पोशाक लगाएर ड्युटीमा खटिए पनि मदिराको नसामा लट्ठ रहेका बस्नेत सडकमा गुड्ने सवारी साधनका चालकले मापसे गरेनगरेको बारेमा चेकजाँच चैं गरिरहेका थिए । मापसे चेकजाँचका क्रममा सवारी चालकसँग वादविवाद गरेपछि जिल्ला प्रहरी कार्यालयमा ड्युटीका असइले मापसे गरेको जानकारी आएको थियो । त्यसपछि घटना बाहिरिएको हो । तत्काल उनलाई त्यहाँबाट जिल्ला ल्याइए पनि शुक्रबार दिउँसोसम्म उनको ठाउँमा बरगाछी चौकीमा कसैलाई पठाइएको छैन । ‘राम्रो काम गरिरहेका पुराना इन्चार्जका ठाउँमा अवधी नै नपुगिकन नयाँ इन्चार्ज पठाउनुलाई राजमार्गमा ‘सेटिङ’ मिलाउने योजनाका रुपमा लिइन सकिन्छ,’ स्रोतले भन्यो, ‘तर ‘सेटिङ’ मिलाउन पठाइएका प्रहरीका जुनियर अधिकृतनै ड्युटीमा मापसे गरेपछि कारबाहीमा परे ।’ डीएसपी खिँउजुले ‘सेटिङ’का सन्दर्भमा आफूलाई जानकारी नभएको बताए । ‘मोरङ प्रहरीको प्रमुख एसपी विश्व अधिकारी हुनुहुन्छ,’ उनले भने, ‘जिल्ला भर प्रहरी परिवर्तन गर्न परे उहाँले नै गर्ने भएकाले सबै कुरा हामीलाई थाहा हुँदैन ।’

स्रोतकाअनुसार विशेष गरेर एसपी अधिकारीलाई प्रभाव र विश्वासमा पारेर विभिन्न युनिटका इन्चार्जदेखि अन्य प्रहरी कर्मचारी परिवर्तन गर्ने काम कर्मचारी प्रशासनका सइ ९प्रहरी नायव निरीक्षक० प्रविन भट्राईले गरेका हुन् । ‘पछिल्लो समय मोरङमा केही आकर्षक युनिट र सिआरभी पोस्टका इन्चार्ज तथा प्रहरी कर्मचारी परिवर्तन गरिएको छ,’ स्रोतले भन्यो, ‘यो सबै काम सइ भट्राईकै मुख्य योजनामा भएको हो ।’ कतिपय युनिटका इन्चार्जलाई भट्राईले एसपी साव्लाई पनि बुझाउनु पर्ने भन्दै खुलेआम नजरना माग्ने गरेको गुनासो छ । ‘आन्तरिक सरुवाका नाममा खुलेआम भट्राईले ‘सेटिङ’ गर्छन्,’ एक युनिट इन्चार्जले भने, ‘तर उनी नै हाकिमका प्यारा हुन्छन् ।’ ती इन्चार्जले सबैसँग लिएर नजरना बुझाउने गरेकै कारण भट्राई कार्यालय प्रमुखदेखि लिएर सबैको विश्वासमा परेको हुन सक्ने बताए । मागे जति पैसा मासिक रुपमा बुझाउन नसके तत्काल अर्को ठाउँमा सरुवाका लागि तयार भएर बस्नु पर्ने समस्या पछिल्लो समय मोरङ प्रहरीमा हावी भएको उनको भनाइ छ । ‘शून्य सहनशिलता भनेर हामीलाई निर्देशन दिइन्छ,’ उनले भने, ‘मासिक नजरना उठाइने ठाउँमा कसरी भयो शून्य सहनशिलता ।’ उनले एसपीसमेतको नाम लिएर भट्राईबाट माग भए जति नजरना बुझाउन नसकेकै कारण छोटै समयमा धेरै युनिटका इन्चार्ज परिवर्तन भएको जानकारी पनि दिए ।

लामै समयदेखि मोरङमा कार्यरत सइ भट्राईले निक्कै आकर्षक ठाउँ पाइरहेका छन् । सइ भएपछि सुरुमा इलाका प्रहरी कार्यालय नेमुवामा कार्यरत रहे । त्यस अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । नेमुवापछि केराबारी, गछिया हुँदै अहिले जिल्ला प्रहरी कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत छन् । प्रहरीका लागि नेमुवा, केराबारी, गछिया सबै मोरङका आकर्षक युनिट हुन् । सबै प्रहरीका जुनियर अधिकृतको पहिलो रोजाइमा यी युनिट पर्छन् । कर्मचारी प्रशासन पनि जिल्ला भरका प्रहरी सरुवा गर्ने ठाउँ भएका कारण आकर्षक मानिन्छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचाको गछियामा पर्ने प्रहरी चौकी गछियमा कार्यरत रहेका बेला ढुंगा, बालुवा र काठ तस्कर लगायत सबैसँग ‘सेटिङ’ मिलाएर पैसा लिने गरेको चाल पाएपछि तत्कालिन मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भट्राईलाई त्यहाँको इन्चार्जबाट हटाएका थिए । इन्चार्जबाट हटाएर जिल्ला प्रहरी तानिएका उनी केसी मोरङ हुनजेल जिम्मेवारीविहीन जस्तै थिए । तर एसपी अधिकारी मोरङ प्रहरीको प्रमुख भएर आएपछि उनलाई विश्वासमा पारेर भट्राई कर्मचारी प्रशासन शाखा हाँक्न सफल भएका हुन् । सइ भट्राईले भने आफू विदामा रहेका कारण केही पनि बोल्न नमिल्ने बताए । ‘म अहिले विदामा छु । त्यही पनि हामीले केही बोल्न मिल्दैन,’ टेलिफोन सम्पर्कमा उनले भने, ‘केही परेमा आवश्यक जानकारी लिन जिल्ला प्रहरी कार्यालयमा प्रवक्ता तोकिएको हुन्छ । सबै कुरा उहाँबाटै जानकारी लिनु हो ।’
एसपी अधिकारीसँग भने सम्पर्क हुन सकेन ।

Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर