Aamsanchar

झापामा पढाइ छाडी क्यारियरमा बालबालिका

Author Image
सोमवार, मंसिर ९, २०७६


भद्रपुर । झापाको सदरमुकामदेखि करिब २२ किलोमिटर दक्षिणमा रहेको कचनकवल गाउँपालिका वडा नम्बर ५ स्थित पाठामारी गाउँमा एउटा बस्ती छ । साबिक पाठामारी गाविसमा पर्ने मेची नदी नजिकै नेपाल–भारतको ११२ नम्बर सीमास्तम्भले सीमा छुट्याएको छ ।

गाउँमा मुस्लिम र राजवंशी समुदायकै बसोबास छ । नजिकै भारतीय बजार पाठामारी र ठाकुरगञ्ज पर्छ । त्यहाँबाट नेपाल भित्राउने किराना तथा खाद्यान्न सामग्री ल्याए बापत सीमाक्षेत्रका बालबालिकाले दिनमा ५ सयदेखि एक हजारसम्म कमाउँछन् । बेरोजगारीका कारण अधिकांश बालबालिका विद्यालय जान छाडिसकेका छन् । बस्तीका आधा बढी बालबालिकाले पढाइ छाडिसकेको शिक्षक विजय हजामले बताए ।

३ देखि ५ कक्षा पढ्दापढ्दै बालबालिकाहरू कमाइको बाटोमा लाग्ने गरेको उनको भनाइ छ । ‘भारतीय नागरिक भए पनि नेपालमै पढ्दै थिएँ’ १४ वर्षीय भारतीय बालक उदयकुमार गणेशले भने, ‘अहिले पढाइ छाडिसकेको छु । भारतको विद्यालयमा पनि नाम लेखाएको थिएँ, दुवैतिर पढ्नुभन्दा रोजगारीमा लाग्नू भनेपछि पढाइ छाडेर काम गर्न थालेको हुँ ।’ १२ वर्षीय साहिल आलमले भने, ‘कक्षा ५ सम्म पढेको थिएँ, अहिले पढाइ छाडेर क्यारियरको काम गर्दैछु ।’ नेपाली वा हिन्दी कुन भाषामा पढ्ने भन्दै भाषाकै समस्याका कारण पढाइ छाडेर पैसा कमाउनतर्फ लागेको उनले बताए ।

सो स्थानमा पूर्वपट्टि मेची नदी बग्ने सीमास्तम्भको उत्तर र दक्षिण दुवैतर्फ बाक्लो बस्ती छ । एकापट्टि नेपाली बस्ती छ भने अर्कोतर्फ भारतीय बस्ती छ । त्यहाँ बस्ने दुवै देशका नागरिक आफ्नो मातृभाषाबाहेक नेपाली भाषा नै बोल्छन् । त्यहाँ भारतीय हिन्दी भाषा खासै बोलचाल हुँदैन । भारतीय नागरिकसहित त्यहाँका बालबालिकाहरू शिक्षा लिन नेपालकै विद्यालय जाने गरेको त्यहाँका स्थानीय बताउँछन् ।

हिन्दी भाषा, मेची नदी र सडक दूरीको समस्याका कारण भारतीय बालबालिका पनि नेपालकै विद्यालयमा पठन–पाठन गर्दै आइरहेका छन् । भारतीय बालबालिका नजिकै रहेको श्री प्राथमिक र जानकी आधारभूत विद्यालय मा पढ्छन् । सीमाले देश छुट्याए पनि मानवीय नातासम्बन्ध बस्तीमा अहिले पनि कायम छ ।

बस्तीमा बस्ने भारतका करिब १२ देखि १५ बालबालिका नेपालमै पठन–पाठन गर्दै आइरहेका छन् । जेठो छोरा उमेश आधारभूतमा कक्षा आठ पढ्दापढ्दै रोजगारीको सिलसिलामा भारत गएको भारतीय नागरिक रूपलाल गणेश बताउँछन् । कान्छो छोरा रमेश कक्षा ४ मा अहिले पनि जानकीमै पढ्दैछ । म जस्तै गाउँका अरू भारतीयले पनि आ–आफ्नो छोराछोरी यहाँ नै पढाउँदै आइरहेको उनी बताउँछन् ।

यहाँ नेपाली शिक्षा लिने पनि बस्तीमा बस्ने नेपाली होस् वा भारतीय बालबालिका उनीहरूको विवाह चाहिँ भारतमै गर्ने चलन रहेको उनले सुनाए । बस्तीमा भारत र नेपालका गरी ६५ देखि ७० जना बालबालिका रहेको श्री प्राविका शिक्षक विजय हजामले बताए । ११२ नम्बर सीमास्तम्भदेखि तीन किलोमिटर पर भारतको टेलिभिट्टा भन्ने स्थानमा श्री उतिम विद्यालय धोबोभिट्टा छ । तर, त्यहाँको विद्यालयमा बस्तीका बालबालिका जान मान्दैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर