Aamsanchar

बिरामीको संवेदनशिल अंगतर्फ हात लगाउने चिकित्सकविरुद्ध मुद्दा

Author Image
बुधवार, मंसिर ११, २०७६


उनी नियमित स्वास्थ्य जाँचका लागि आइतबार साढे ३ बजे ललितपुरको भैंसेपाटिस्थित मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल पुगिन्। सम्पूर्ण स्वास्थ्य जाँच (होलबडी चेकअप) गर्न उनी अस्पताल पुगेकी थिइन्। अन्य सबै जाँच भइसकेको थियो। आइतबार मेडिसिटीका जनरल मेडिसिनका डा रोहितकुमार झाले जाँच गरेर अन्तिम प्रतिवेदन दिनुपर्ने थियो।

ती महिला कार्यालयका अर्का एकजना कर्मचारीसँगै अस्पताल गएकी थिइन्। झाको कक्षमा प्रवेश गरेपछि उनीसँग केही मिनेट अनौपचारिक कुराकानी भयो। उनले आफ्नो परिवारका सदस्यबारे पनि बताइन्। झाले उनले भनेका व्यक्तिलाई आफुले चिनेको जवाफ फर्काए। महिलाले राम्रो उपचार पाउने आशामा सो परिचय समेत खुलाएकी थिइन्।

तर झाले उपचारका लागि आएकी ती ३३ वर्षीय महिलासँगको विषय प्रसंग बदले। केही समय उनले ती महिलाको सौन्दर्यको चर्चा गरे। त्यसपछि उनले नियमित जाँच सुरु गरे। चिकित्सक झाले स्टेथेस्कोपले उनलाई जाँच्न थाले। स्टेथेस्कोपले महिलाको छातीमा जाँच गर्दागर्दै स्तन समाउन पुगे तर, महिलाले असहज महसुस गर्दै प्रतिक्रिया जनाएपछि पछि हटे।

त्यसअघिको घटना ‘झुक्किएर भएको होला’ भनी युवती थप जाँचका लागि तयार भइन्। चिकित्सक कक्षको जाँच पलङमा पल्टिइन्। त्यसपछि झाले पेटको जाँच गर्न सुरु गरे। झाले त्यसलगत्तै उनको तल्लो पेट जाँच गर्न थाले। तर, उनी आवश्यक जाँचमा मात्रै सीमित भएनन्, महिलाको संवेदनशिल अंगतर्फ हात लग्नथाले। त्यसपछि महिला अत्तालिँदै बाहिर निस्किइन्। उनी निस्कँदै गर्दा झाले ‘गल्ती भयो, दाइलाई केही नभन्नु है’ भन्न भ्याए।

‘जाँचमात्र होइन भन्ने हेक्का हुनासाथै पीडित दौडँदै बाहिर निस्कनुभयो’, घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसरका डीएसपी सन्तोष तामाङले भने, ‘जर्बजस्तीकरणी उद्योगको जाहेरीअनुसार कारबाही अघि बढेको छ।’ अनुसन्धान अधिकारीहरुका अनुसार महिला दौडिँदै आफुसँगै अस्पताल गएका अर्का कर्मचारीलाई भेटन पुगिन्। उनी ती कर्मचारीका अघि रुन थालिन। उनले कारण सोधे, महिलाले झाको हर्कतबारे सुनाइन्।

‘पीडितसँगै अस्पताल गएका कर्मचारीले भिडियो रेकर्ड गर्दै आरोपीलाई घटनाको विषयमा सोधेका छन्’, ती अनुसन्धान अधिकारीले भने, ‘झाले आफुबाट गल्ती भएको स्वीकारेका छन्।’आइतबार यो घटनापछि पीडित र उनको परिवार प्रहरी सम्पर्कमा पुगेका थिए। परिसरमा सोमबार औपचारिक जाहेरीपछि प्रहरीले नियन्त्रणमा लिएर मंगलबार चिकित्सक झाबिरुद्ध करणी उद्योगमा ललितपुर जिल्ला अदालतबाट चार दिनको अनुसन्धान म्याद लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर