Aamsanchar

मेचीनगरको अस्मिता पाउरोटी उद्योगमा शिलबन्दी, अरुलाई सुधार गर्न निर्देशन

Author Image
बुधवार, मंसिर ११, २०७६

प्रतिकात्मक तस्वीर

काँकरभिट्टा, ११ मंसिर । मेचीनगरमा सञ्चालनमा रहेका अधिकाँश पाउरोटी उद्योग मापदण्ड विपरित रहेका छन् । बजार अनुगमन टोलीले अनुगमनका क्रममा यस्तो फेला पारेको हो । अधिकाँश उद्यागले फोहोर मैलामा ध्यान नदिएको, मूल्य सूची नराख्ने, उद्योगमा कार्यरत कामदारको सुरक्षामा ध्यान नदिने गरेको टोलीले जनाएको छ ।

बजार अनुगम टोलीले झापाको मेचीनगर -१० स्थित अस्मिता पाउरोटी उद्योगमा बुधबार शिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापा, जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय, कार्यालय झापा, मेचीनगर नगरपालिका, जनप्रतिनिधिहरु, स्थानीय प्रशासनको संयुक्त बजार अनुगमन टोलीले मेचीनगरका आधा दर्जन बढी पाउरोटी उद्योगको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कुलबहादुर पोखरेलको नाममा दर्ता रहेको उक्त पाउरोटी उद्योगले विभिन्न सम्बन्धित निकायहरुबाट दर्ता प्रमाण पत्र लिएको भएपनि मापदण्ड विपरीत उत्पादन गरेका कारण उद्योगमा शिलबन्दी गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापाका प्रमुख खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले बताए ।

नेपाल सरकारको प्रचलित खाद्य सुरक्षालाई वेवास्ता गदैं खाद्य वस्तु उत्पादन गरी उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गरेका कारण कारवाही स्वरुप शिलबन्दी गरिएको टोलीमा संलग्न मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिए । उद्योग व्यवस्थित र मपदण्ड अनुसारको सवै व्यवस्था नमिलाएसम्मका लागि सञ्चालनमा रहेको मेसीनमा टोलीले शिलबन्दी गरेको छ ।

यसैगरी खगेन्द्र पोखरेलले सञ्चालन गरेको मेचीनगर -१०मा रहेको निशा पाउरोटी उद्योगमा उत्पादन भएका सवै खाद्य सामाग्रमिा लेवल र मूल्य सूची नराखेको, तौलमा एकरुपता नभएको, उद्योगको वोर्ड नराखेको, सरसफाईमा ध्यान नदिएको अनुगमन टोलीले फेला पारेको थियो । उद्योग सञ्चालकलाई सवै उत्पादित वस्तुहरुमा लेवल तथा मूल्य सूचीको ट्याग राख्नुपर्ने, तौलमा समानता ल्याउनु पर्ने, कामदारको व्यक्तिगत सरसफाई तथा सुरक्षाको सामाग्री अप्नाउनुपर्ने, यथाशीघ्र मूल्य सूची राख्नुपर्नेभन्दैं टोलीले सजक गराएको खाद्य अनुसन्धान अधिकृत पुरीले बताए ।

प्रदिप राजवंशीले सञ्चालन गरेको पाथीभरा पाउरोटी उद्योगले उत्पादन स्थल अव्यवस्थित भएको, फोहोर मैला भएको, सरसामानहरु जताभावी राखिएको उद्योगको स्टोरको व्यवस्थापन उचित नभएकाले आगामी दिनमा यसलाई व्यवस्थित गर्न टोलीले सुझाव दिएको छ ।

टोलीले मेचीनगर-७ मा रहेको पवन वेकरी उद्योग, मेचीनगर – ६ मा रहेको नेहा स्नेह वेकरी उद्योगमा समेत अनुगमन गरेको थियो । सो क्रममा उद्योग परिसर अस्तव्यस्त र अव्यवस्थित तथा फोहोर मैलामा ध्यान नदिएका कारण उद्योग सञ्चालकहरुलाई सम्झाइएको र पुनः अनुगमन टोली आउँदा यसमा सुधार नआए कारवाही गर्ने पुरीले बताए ।

टोलीमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकिय अधिकृत यदुनन्दन दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापाका प्रमुख खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडा, मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, मेचीनगर १० का वडाध्यक्ष सुदयकुमार पनेरु, इलाका प्रहरी कार्याय धुलावारीका प्रतिनिधि श्रीमान राई, घरेलु तथा साना उद्योग कार्यालय झापाका हर्कबहादुर विक सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर