Aamsanchar

सागका ४ खेलको प्रतियोगिता हेर्न टिकट काट्नुपर्ने

Author Image
बिहिवार, मंसिर १२, २०७६

काठमाडौँ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश काठमाडौंमा आयोजना हुने ४ खेलका प्रतिस्पर्धा हेर्न दर्शकले टिकट लिनुपर्ने भएको छ । दशरथ रंगशालामा हुने पुरुष फुटबल, त्रिपुरेश्वर राखेप कभर्डहलमा हुने भलिबल महिला र पुरुष र बास्केटबल तथा त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटका खेलहरुका लागि टिकट लिनुपर्ने छ ।

राखेपले त्यसका लागि इसेवासँग सहकार्य गरेको छ । त्रिवि मैदानमा भने इसेवा र नेपालय इन्टरनेशनलबीच सहकार्य भएको छ । पुरुष फुटबलका समूह चरणका खेलमा साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क निर्धारण गरिएको छ । सेमिफाइनल र फाइनल खेलका लागि साधारणतर्फ १ हजार र भीआईपीतर्फ २ हजार शुल्क हुनेछ ।

भलिबल र बास्केटबलका लागि ५ सय टिकट शुल्क निर्धारण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालको खेल भएका दिन ५ सय र अन्य टिमको खेल भएका दिन २ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।

१५ हजार ९ सय दर्शक क्षमता रहेको दशरथ रंगशालामा १४ हजार टिकट विक्री गरिने राखेप सदस्यसचिव सिलवालले जानकारी दिएका छन् । टिकट शुल्कबाट संकलित रकमको १५ प्रतिशत इसेवाले कमिसन पाउनेछ । कमिसनमध्ये आधा उसैले राख्नेछ भने आधा खेलकुदको पूर्वाधार विकासमा भएका कामका लागि अनुदान प्रदान गर्ने सहमति भएको छ ।

भूकम्पले क्षति पुर्‍याएको दशरथ रंगशाला पुनर्निर्माणपछि पहिलोपल्ट ठूलो प्रतियोगिताको आयोजना गर्दैछ । यसपल्ट रंगशालामा पहिलोपल्ट कुर्सी जडान गरिएको छ भने कुर्चीमा नम्बर पनि उल्लेख गरिएको छ ।

इसेवाका सीइओ रोशन लामिछानेका अनुसार टिकटमै कुर्सीको नम्बर उल्लेख गरिएको हुनेछ । उनले टिकटमा उल्लेख भएकै सिट नम्बरमा बसिदिन पनि सबैमा अनुरोध गरेका छन् । रंगशालामा फुटबल हेर्न जाँदा टिकटसँगै फोटोसहितको परिचयपत्र पनि बोक्नुपर्नेछ । टिकटमा नाम उल्लेखित व्यक्तिले मात्र रंगशाला प्रवेश पाउने उनले बताए । ‘टिकटमा कालोबजारी र नक्कली दर्शकलाई निरुत्साहित गर्न हामीले त्यसो गरेका हौं,’ पत्रकार सम्मेलनमा उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)