Aamsanchar

आज मोक्षदा एकादशी

Author Image
आइतवार, मंसिर २२, २०७६

श्रीमद्भागवत् गीता महापूराण अनुसार मोक्षदा एकादशी मंसिर शुक्ल पक्षको एकादशीलाई भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट मानवतालाई नयाँ दिशा दिने गीता उपदेश प्राप्त गर्नु भएको थियो । त्यहि भएर यस एकादशीलाई गीता जयन्तिका रुपमा पनि मनाइन्छ । एकादशी भन्नाले विशेष गरी भगवान बिष्णुको पूजा हो । आज बिष्णु प्रतिमा स्थापना गरी धूप, दीप, नैवेद्य चढाइन्छ । त्यसैगरी ब्राह्मण भोजन गराई दक्षिणा दिनाले धार्मिक फल प्राप्त हुने विश्वास छ । सवै पापहरुबाट मोक्ष प्राप्त हुने भएकोले यस एकादशीको ब्रत लिनु धार्मिक दृष्टिकोणले उपयुक्त मानिन्छ । पापबाट मोक्ष गराउने भएकोले नै यस एकादशीलाई ‘मोक्षदा’ भनिएको हो । मोक्षदा एकादशीको ब्रत बसेपछि पुर्वजहरुले सवै पापबाट मुक्ति पाई स्वर्गको बास पाउने धार्मिक मान्यता रहेको छ ।

पौराणिक कथन द्वापर युगमा गोकुल नगरमा वैखानस नाम गरेका राजाले राज्य गर्दथे । राजा वैखानसले एकपटक सपनामा आफ्ना पिता नर्कमा परेको र उद्दारका लागि आफुलाई अनुनय विनय गरेको देखे । यस्तो सपनाले वैखानस चिन्ताले ब्याकुल बने । उनले बिहानै उठि राज्यसभाका गुरु पुरोहित तथा ब्राम्हणहरुलाई बोलाएर सपनामा देखेको कुरा सबिस्तार सुनाए । त्यसपछि गुरु ब्राम्हणहरुले पर्वत नाम गरेका एकजना तपश्वि ऋषिमुनिलाई भेटे उद्दारको तरिका थाहा लाग्ने लगाए । वैखानसले पनि पर्वत मुनिकहाँ पुगि सवै बेलिबिस्तार सुनाए । पर्वत ऋषिले ध्यानदृष्टिले हेरि सवै जानी बुझि पूर्वजन्मको पापले गर्दा तपाँईका पिताले नरक भोग्नु परेको हो भनि वैखानसलाई बताइदिए । त्यसबाट मुक्तिका लागि सवै विधी पुरा गरी मंसिर शुक्ल एकादशी अर्थात मोक्षदा एकादशीको ब्रत गरेको खण्डमा नरक बासमा परेका पित्रीको उद्दार हुने कुरा पर्वतमूनिले बताइदिए । वैखानसले पनि पर्वत ऋषिले भने अनुसार मोक्षदा एकादशीको ब्रत बसि नरकमा फसेका आफ्ना बुबाको उद्दार गरे । त्यसैबेलादेखि यहि धार्मिक कथा अनुसार अहिले पनि भक्तालुहरु मोक्षदा एकादशीको ब्रत बस्ने गर्दछन् र पापमा फसेका पित्रीहरु उद्दार गर्ने गर्दछन् ।

आज गीता उपदेशको पुस्तक सहित श्रीकृष्ण र वेदव्यासको पनि भक्तिपूर्वक पूजा गरिन्छ । मोक्षदा एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमिकै दिन शुद्ध भई नियमपूर्वक जौको रोटी र मुँगको दाल बनाई एक पटक मात्रै भोजन गर्नु पर्दछ । त्यसैगरी एकादशीको ब्रत समाप्त गरी भोलिपल्ट द्वादशीका दिन बिहानै स्नान गरी एक छाक खाएर उपबास बस्नु पर्दछ । एकादशीका दिनमा भने भगवानको पूजा आराधना गरी रात्री समयमा गीता श्लोक गाउँदै जाग्राम बस्नु पर्दछ । गीताले अज्ञानता र अन्धकारबाट मुक्त गरी मानव जीवनलाई समृद्धि र सत्कर्म तर्फ लैजान्छ । यसो गर्नाले मानव जीवनमा विचारको श्रेष्ठता प्राप्त हुने विश्वास रहेको छ ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर