Aamsanchar

विराटनगरको नोवेल शिक्षण अस्पतालमा फेरि अर्को घटना

Author Image
आइतवार, मंसिर २२, २०७६

मोरङ : चिकित्सकको लापरबाहीले बारम्बार बिरामीले ज्यान गुमाउनु पर्ने विराटनगरको नोवेल शिक्षण अस्पतालमा फेरि अर्को घटना भएको छ । इलामको फिक्कल घर भई मोरङको लेटाङ नगरपालिका–६ खेरुवास्थित माइतीमा बस्दै आएकी २९ वर्षीय जानुका श्रेष्ठको चिकित्सकको लापरबाहीले मृत्यु भएको छ । शल्यक्रियामार्फत प्रसूति गराइएकी उनको मृत्युपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको छ । प्रसूति व्यथाले च्यापेपछि शुक्रबार साँझ नोवेलमा भर्ना गरिएकी श्रेष्ठलाई शल्यक्रिया गरेर १० बजे प्रसूति गराइएको थियो । अस्पतालकी बरिष्ठ स्त्री रोग विशेषज्ञ डा। शान्ति सुवेदी नेत्रृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो ।

पहिलो सन्तानका रुपमा छोरा जन्माएकी श्रेष्ठको अवस्था गम्भीर बन्दै गए पनि चिकित्सकले वास्ता नगरेको जानुकाका बुवा गणेशकुमार श्रेष्ठले बताए । ‘शल्यक्रिया गरेपछि चार घण्टासम्म चिकित्सकले कुनै वास्तै गरेनन्,’ उनले भने, ‘बिहान २ बजेपछि छोरीको मृत्यु भयो ।’ सुत्केरीको मृत्यु भए पनि परिवारका सदस्य र आफन्त शनिबार शव अस्पतालमै छाडेर गएका थिए ।

शव बुझ्न अस्वीकार गरेका आफन्तले शल्यक्रियापछि रक्तश्राव नरोकिएर जानुकाको मृत्यु भएको आरोप लगाएका छन् । बस रिजर्व गएर आइतबार अस्पताल घेराउ गर्न आएका आफन्त र स्थानीय बासिन्दाले नाराजुलुस र प्रदर्शन गरिरहेका छन् । साँझ प्रदर्शन झन् उग्र भएर गएको छ । नाराजुलुस गर्दै प्रसूति वार्ड तिर हुल बढेपछि त्यसलाई रोक्न खोज्दा मृतक पक्ष र प्रहरीबीच धकेलाधकेल भएको थियो । अस्पताल भित्र पसेको हुललाई साँझ प्रहरीले सामान्य बल प्रयोग गरेर बाहिर निकालेको छ । यो समाचार तयार पारुनजेल सम्ममा अस्पताल बाहिर नाराजुलुस र प्रदर्शन जारी रहेको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर