

हलेसी। रिसखा आफु बुद्धीखा अर्को भन्ने उक्तीनै छ, खोटाङमा आपासी विवादका क्रममा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार राति भएको झगडाका क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समूहले टाउकोमा मुस्ली प्रहार गर्दा गम्भीर घाइते भएका राईको प्राथमिक उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

मुस्ली प्रहारले टाउकोमा गम्भीर चोट लागेका राईको हलेसीकै एक क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
भूकम्प पुनर्निर्माण अन्तर्गतको घर निर्माणको काम गरेर फर्कँदै गरेका रमेश र अन्य तीन जनाबीचमा बाटोमा सामान्य विषयमा भनाभन कुटाकुट सुरु भएको जानकारी सुन्नमा आएको हलेसी तुवाचुङ नगरपालिकामा मेयर इवन राईले बताए।
घटनामा संलग्न रहेका अशोक राई, बलराम राई र बबिन राई भने फरार रहेको प्रहरीले जनाएको छ ।

