सुनसरीको विभिन्न सीमानाका हुँदै भारततर्फ चाइनिज नासपातीको तस्करी हुने गरेको पाइएको छ ।घुस्कीनाका हुँदै भारततर्फ लगिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी विनोद शर्मा नेतृत्वमा खटिएको प्रहरी टोलीले ५ सय ६० केजी चाइनिज नासपाती नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो । सोमबार राति सुनसरीको घुस्कीनाका हुँदै को।१ च २६६९ नम्बरको रातो रङको भ्यानमा भारततर्फ लगिँदै गर्दा चाइनिज नासपाती बरामद गरिएको हो ।
प्रहरीका अनुसार बरामद गरिएको भ्यान र चाइनिज नासपातीको २ लाख ७१ हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको हो । सीमामा तैनाथ सुरक्षाकर्मीसँग सेटिङमा चाइनिज नासपाती तस्करी गराउने गिरोह सक्रिय रहेका छन् । चाइनिज नासपाती नेपालको बाटोबाट अर्को मुलुक निकासी गर्न प्रतिबन्धित छ ।
सुनसरीका विभिन्न नाका हुँदै चाइनिज नासपातीसँगै स्याउको समेत तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन् । तस्करहरूले दिउँसो भण्डारण गरी राख्ने र रातको समयमा भारततर्फ कटाउने गरेका छन् ।
चाइनिज नासपाती भारततर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिएको सुनसरीका डिएसपी शर्माले जानकारी दिए । गाडी नियन्त्रणमा लिए पनि चालक फरार भएको प्रहरीले जनाएको छ । घुस्की नाकाबाट नियमित रूपमा नासपाती तस्करी भएपछि सुनसरी प्रहरीले सुराकीको आधारमा नियन्त्रणमा लिएको जनाएको छ ।
नासपातीसहितका सामान दिनहुँजसो तस्करी हुने गरे पनि नियन्त्रणका लागि तैनाथ सशस्त्र प्रहरीले नदेखेजस्तो गर्ने गरेकाले उनीहरूको मिलेमतोमा हुनसक्ने स्थानीयको दाबी छ । रातिको समयमा भ्यान चाइनिज नासपातीसहित सीमाक्षेत्र पार गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिए पनि चालक फरार भएको डिएसपी शर्माले बताए ।
चाइनिज नासपाती, स्याउ, कालो मरिच, मदिरासहितका विभिन्न सामान सुनसरीको घुस्कीलगायत नाकाबाट सुरक्षाकर्मीसँग सेटिङ मिलाएर भारततर्फ तस्करी हुँदै आएको सीमा क्षेत्रका स्थानीय बताउँछन् ।