काठमाडौँ । भारतमा पुर्याएर एक युवतीको बलि दिन लागेको घटनामा युवती र प्रहरीको चलाखीले गम्भीर अपराध टरेको छ । बिहीबार महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै प्रहरीले गम्भीर अपराध हुनबाट जोगिएको बताएको हो ।
बिहारको मन्दिरमा रहेका एक बाबाले एक ६ फिट उचाइकी युवतीलाई बिहारमै बलि दिनका लागि नेपाली व्यक्तिहरुलाई परिचालन गरेको र युवती ल्याउने व्यक्तिहरुलाई मोटो रकम दिने आश्वासन दिई केही रकमसमेत दिइसकेको प्रहरीले बताएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न मुख्य योजनाकार दिलिप पोद्दारसहित ७ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीले घटनामा संलग्न कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराजका ४० वर्षीय उमेश शाह, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरीलाई सार्वजनिक गरेको छ ।
युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिइएको पाइएको थियो ।
बलीका लागि यसरी खोजिएको रहेछ युवती
भारतमा बली दिने युवती खोजीका लागि अनौठो शैली अपनाइएको पाइएको छ । जसका लागि केही समयअघि काठमाडौंमा एक ‘र्याम्प शो’ गर्ने भन्दै अग्ला कदका युवतीको खोजी गरियो । काठमाडौंमा एक महिलाले त्यसको संयोजन गरिन् ।
राजधानीको एक फेसन डिजाइन हाउसले ती महिलाले खोजेअनुसारकी युवती उपलब्ध गराउने जिम्मा लिएको थियो । जसमा युवतीको उचाई साढे ५ फिटदेखि ६ फिटसम्म भनिएको थियो ।
डिजाइन हाउसले सोही मापदण्ड अनुसार युवतीको खोजी थाल्यो । खोजी गर्ने क्रममा एक युवती सम्पर्कमा आइन् । काठमाडौंमा उनको शरीरको नाप लिइयो । शुरुमा काठमाडौंमै कार्यक्रमका लागि भन्दै युवतीलाई तयार गरिए पनि केही दिनपछि विराटनगरमा कार्यक्रम गर्ने भनियो ।
त्यसपछि नै ती युवतीले शंका लागेर प्रहरी कार्यालयमा जानकारी आएको प्रहरी स्रोतले जनाएको छ । युवतीको प्रारम्भिक शंकाका आधारमा प्रहरीले सुक्ष्म उनीहरुमाथि निगरानी र अनुसन्धान अगाडि बढायो ।
घटना अनुसन्धानका क्रममा कतिपय स्थानमा प्रहरी युवतीसँगै सादा पोशाकका आफन्त बनेर शंकास्पद व्यक्तिसम्म पुगेको स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘युवती मोडल समेत भएकाले अनुसन्धानमा केहि सजिलो भयो ।’
उनलाई आफ्नो प्रस्तुती देखाएवापत् उचित पारिश्रमिक दिने जनाइएको थियो । आपसी सहमतिमा सबै कुरा मिलिसकेपछि ती युवती विराटनगर जान तयार भइन् । जहाँ सादा पोशाकमा रहेका प्रहरी पनि सँगै थिए ।
विराटनगर पुगेपछि उनलाई एक धार्मिक आश्रममा लगिएको उच्च प्रहरी स्रोत बताउँछ । त्यहाँ पुगेपछि उनलाई विभिन्न धार्मिक बस्त्र लगाउन लगाइयो । उनको खुट्टामा कालो धागो बाँधियो । उनलाई फेरि भारत जानुपर्ने बताइएपछि प्रहरीले सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारत लगेर ती युवतीलाई बली चढाउने योजना रहेको बढी आशंका छ ।
विराटनगर पुर्याइएकी युवतीलाई राखिएको कोठामा अर्की एक महिला पनि रहेको प्रहरी स्रोतले जनाएको छ । जो ती युवतीसँगै काठमाडौंबाट गएकी थिइन् ।
एक अधिकारीका अनुसार ती युवतीलाई विराटनगरबाट भारतमा रहेका एकजना धार्मिक बाबाको आश्रममा पुर्याउने योजना रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
प्रहरीले घटनाबारे जानकारी पाएपछि काठमाडौं र स्थानीय प्रहरीको समवन्यमा घटनामा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको हो । जसमा श्रीमान–श्रीमती समेत रहेको स्रोतको दावी छ ।