
फायल तस्वीर

अन्नपूर्ण पोस्टका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अगाडि बढेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिकै पुग्नै लाग्दा देउवा एक्लैले पार्टीका महत्वपूर्ण निर्णय लिएका हुन् ।

देउवाको सो निर्णयप्रति पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो गुटको आधारमा निर्णय गराएर सभापतिले महाधिवेशन कब्जा गर्न खोज्नुभएको प्रतिक्रिया दिएका छन् भने वरिष्ठ नेता पौडेलले सभापतिले पार्टीलाई संकटतिर धकेलेको आरोप लगाएका छन् ।

कान्तिपुरले ‘एक्लै अघि बढे देउवा’ शीर्षकमा समाचार लेख्दै सिटौला र वरिष्ठ नेता पौडेलको भनाइलाई प्राथमिकता दिएको छ । समाचारमा सिटौलाले भनेका छन– यो निर्णयले गुटका सदस्यको अहंकार बढेको होला तर समग्र पार्टी कमजोर भएको छ । कांग्रेस कमजोर भएको हेर्न चाहनेलाई खुशी बनाएको छ । नयाँ पत्रिकाले कांग्रेसमा देखिएको विवादका विषयमा ‘निर्णय नसच्याए विद्रोह हुने चेतावनी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।


