विराटनगर । भारतको बथनाहस्थित मिरगञ्ज पुल सुचारु भएपछि विराटनगर प्रवेशको मुख्य जोगवनी नाका पनि सञ्चालनमा आएको छ । मिरगञ्ज पुल अवरुद्ध भएपछि मालबहाक सवारी साधन आवतजावत बन्द हुँदा नौ दिनदेखि नाका ठप्प जस्तै थियो । मर्मतका लागि भन्दै भारतीय पक्षले जोगवनी प्रवेश गर्ने पुलमा आवतजावत रोक्दा नेपालका लागि सामान लिएर भारत तथा तेस्रो मुलुकबाट आएका मालबहाक सवारी साधन बीचैमा रोकिएका थिए । पुल मर्मतका लागि भन्दै भारतले डिसेम्बर १९ देखि मालवाहक सवारी साधन आवत–जावतमा रोक लगाएको थियो ।
पुलको मर्मत सकेर भारतले सवारी आवागमन सुचारु गरेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले बताए । दुवैतर्फ ठूलो संख्यामा मालवाहक सवारी साधन रहेकोले सडकमा भने जाम रहेको उनको भनाइ छ । नेपालतर्फ करिब २ सय खाली गाडी छन् । भारततर्फ करिब २ हजार मालवाहक गाडी रोकिएका छन् ।
पुल खुलेपछि आवात–जावत सुचारु भएपनि सवारी जाम हुँदा कठिनाइ भइरहेको पौडेलले बताए । २०७४ साल साउनको बाढीले पुल क्षतिग्रस्त बनाएको थियो । त्यसबेला पुल सञ्चालनमा आउन ८ महिना लागेको थियो । विराटनगर भन्सार कार्यालयले दैनिक करिब १५ करोड राजस्व संकलन गर्दै आएको छ । मालबहाक सवारी साधन रोकिएपछि राजस्व संकलन प्रभावित बनेको थियो ।
भारत तथा तेस्रो मुलुकबाट सामान लोड भएर आएका तीन सय बढी मालबहाक सवारी साधन जोगवनी नाका हुँदै दैनिक प्रवेश गर्ने गरेका छन् । पुल मर्मतका लागि सवारी आवत–जावतमा रोक लगाएपछि भन्सारको राजस्व संकलन हुन सकेको थिएन । भारतले पुलबाट ४० मेट्रिकटन भन्दा कम भारका गाडी मात्र प्रवेश गर्न दिने गरेको छ । पुलको कारण पटक–पटक समस्या खेप्नुपर्ने अवस्था आएकोले प्रदेश १ का उद्योगी व्यवसायीले यो समस्याको दीर्घकालीन समाधान खोज्नु पर्ने माग गर्दै आएका छन् ।