Aamsanchar

तीनदिनको अवधिमा १ करोड बराबरको राजस्व असुली

Author Image
सोमवार, पौष १४, २०७६


तीनदिनको अवधिमा १ करोड रुपैयाँ बराबरको राजस्व असुली भएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले जनाएको छ ।

भारत बिहार राज्यको फारसबिसगञ्जस्थित मिरगञ्ज पुल मर्मतका कारण शुक्रबारदेखि आइतबारसम्म सुनसरीको भण्टाबारी नाका हुँदै भित्रिएका १ सय ५० मालवाहक सवारीसाधनबाट १ करोड राजस्व असुली भएको प्रमुख भन्सार अधिकृत प्रमोदकुमार दासले जानकारी दिए । भारतबाट कोइला, आलु, धान, गहुँ बोकेर आएका १ सय ५० मालबाहक सवारीसाधनबाट १ करोड राजस्व असुली गरिएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

विराटनगर भन्सारबाट विभिन्न मालवाहक कण्टेनरहरूले सामान आयात–निर्यात गर्दै आएकोमा मिरगञ्ज पुल मर्मत गर्नुपर्ने भएकोले तीनदिनसम्म भण्टाबारी भीमनगर नाका वैकल्पिक नाकाका रूपमा प्रयोगमा आएको थियो । भण्टाबारी भीमनगर नाकाबाट शुक्रबारसम्म नेपाल भित्रिएका बाहेक अरु सवारीसाधन शनिबारबाट पुरानै रुटबाट जान थालेको भन्सार अधिकृत दासले बताए ।

ओभर लोडका कारण बिहार राज्यको फारसबिसगञ्जस्थित मिरगञ्ज पुल अवरुद्ध हुँदै आएको छ । आयात कम भएको र लक्ष्य धेरै राखेकोले पहिलो पाँचमहिनामा अपेक्षाअनुसार राजस्व असुली हुन नसके पनि तीनदिनको अन्तरालमा एक करोड राजस्व असुली भएकोले वार्षिक राजस्व असुलीमा सहयोग पुग्ने भन्सार अधिकृत दासको भनाइ छ । ‘भारतबाट आउने सामानमा पहिलाको तुलनामा कमी आएको छ’ उनले भने, ‘लक्ष्य पनि अपेक्षाभन्दा बढी राखियो ।’

यसैबीच सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले चालू आर्थिक वर्षको पाँच महिनामा करिब २५ करोड भन्दाबढी राजस्व असुली गरेको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजका प्रमुख भन्सार अधिकृत दासका अनुसार साउनदेखि मङ्सिर महिनासम्मको अवधिमा २५ करोड ३३ लाख ३५ हजार ३ सय ४१ रुपैयाँ राजस्व सङ्कलन भएको हो । चालू आर्थिक वर्षको पाँच महिनामध्ये कात्तिकमा मात्र लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको हो भने साउन, भदौ, असोज र मङ्सिर महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन ।

सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले यो वर्ष ६३ करोड ५८ लाख ६६ उठाउने लक्ष्य राखेकोमा पाँच महिनाको अवधिमा २५ करोड ३३ लाख ३५ हजार ३ सय ४१ रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले दिएको जानकारीअनुसार साउन महिनामा ५ करोड १० लाख ३४ हजार लक्ष्य राखेकोमा ४ करोड ९६ लाख ९४ हजार ५ सय २ रुपैयाँ राजस्व सङ्कलन ग¥यो ।

यसैगरी भदौ महिनामा ६ करोड ३७ लाख ७६ हजार लक्ष्य राखेकोमा ५ करोड १६ लाख २० हजार ३ सय ८८ रुपैयाँ राजस्व सङ्कलन भयो भने असोज महिनामा ६ करोड ३७ लाख ७६ हजार लक्ष्य लिएकोमा ५ करोड ४६ लाख ५५ हजार ६९ रुपैयाँ राजस्व असुली भयो । त्यसैगरी कात्तिक महिनामा ४ करोड ९४ लाख ७० हजार राजस्व उठाउने लक्ष्य राखेकोमा ५ करोड ७३ लाख १० हजार ३ सय ८२ रुपैयाँ राजस्व सङ्कलन गरेको सुनसरी भन्सार कार्यालयले जनाएको छ । त्यसैगरी मङ्सिर महिनामा ५ करोड १० लाख उठाउने लक्ष्य राखेकोमा ४ करोड ५५ लाख राजस्व असुल भएको छ ।

नेपाल–भारत खुला सीमा नाकाको फाइदा उठाउँदै अवैधानिक रूपमा चोरीपैठारी हुने गरेकोले अपेक्षा गरिएअनुसार राजस्व असुलीमा गर्न चुनौती देखिएको सुनसरी भन्सार कार्यालयले जनाएको छ । प्रहरीले सीमामा निगरानी बढाएको दाबी गरे पनि अपेक्षाअनुसार राजस्व असुली नहुनुले जिल्लाको विभिन्न नाकाबाट चोरीपैठारी हुने गरेको पुष्टि हुन्छ । सुनसरीको नाका हुँदै भारतबाट नेपालतर्फ आलु, प्याज, हरियो तरकारी, चामल, मकै, फलफूल, कोइला, सुती कपडा, थान कपडा लगातार आयात हुँदै आएका छन् ।

जसमध्ये पछिल्लो समय भारतले प्याज निर्यात रोक्नु र अपेक्षाअनुसार आलु र कोइलाको आयात नहुनुले राजस्व असुलीमा कमी आएको सुनसरी भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले ३१ करोड ५५ लाख लक्ष्य राखेकोमा ४९ करोड ३७ लाख ६६ हजार ८ सय ५८ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने चालू आर्थिक वर्षमा सुनसरी भन्सार कार्यालयले ६३ करोड ५८ लाख ६६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर