पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कुटपिट गरेका हुन् । गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले हातपात गरेका थिए ।
एन्फा कास्कीका अध्यक्ष गुरुङकाअनुसार मनाङबाट आएको टिमको खेल भोलिबाट छ । अघिल्लो दिन मंगलबारबाट मात्र होटलमा राख्ने व्यवस्था मिलाइएको थियो । ‘उहाँको टिमलाई ५र६ दिन अगाडिको भत्ता दिनुपर्यो भनेर विवाद गर्नु आउनुभयो तर हामी नियम अनुसार बाहिर जानसक्ने भएन । त्यसो भन्दा ममाथि हातपात भएको हो’ गुरुङले भने । प्रमुख अतिथि आउनै लागेको र कार्यक्रम भाँडिने भएकाले आफू संयमित भएको उनले सुनाए ।
प्रदेशसभा सदस्य मनाङ्गेले पनि झापड हानेको स्वीकार गरे । तर व्यवस्थापनप्रति असन्तुष्टि जनाए । सहभागी टिमलाई खबर नै नगरी अन्तिम समयमा प्रतियोगिताको मिति सारेको, मनाङबाट आएको टिमलाई बस्ने व्यवस्था समेत नमिलाएको भन्दै उनले भने, ‘८र९ घन्टा हिँडेर आएको खेलाडीहरुसँग जोक गर्ने ?’
एन्फा मनाङका अध्यक्ष निरज गुरुङले पनि प्रतियोगिताको व्यवस्थापन राम्रो नभएको गुनासो गरे ।
प्रदेश सरकारको आर्थिक सहयोगमा मुख्यमन्त्री कप प्रतियोगिता लेखनाथको भण्डारढिकमा सुरु भएको छ । तर सहभागी टिमलाई बस्ने खाने तथा अभ्यास गर्ने उचित व्यवस्था नै नगरिएको एन्फा मनाङका अध्यक्ष गुरुङले जानकारी दिए ।