Aamsanchar

जिल्लाको आदेश बदर गर्दै उच्चद्धारा सिद्धबाबालाई थुनामा राख्न आदेश

Author Image
बिहिवार, माघ ९, २०७६

मोरङ । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न उच्च अदालत विराटनगरले बिहीबार आदेश दिएको छ । तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते दिएको आदेश बदर गर्दै उच्चले जवरजस्ती करणी मुद्दामा थुनामा राख्न आदेश दिएको हो । उच्चका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश बदर गरिदिएको हो । उक्त आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए ।

उच्च अदालतबाट जिल्लाको आदेश बदर गरी सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए । उच्चको आदेशपछि जिल्लाले दिएको आदेश बदर भएको उनले बताए । उच्च अदालत विराटनगरमा आफू विरुद्धको जवरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका सिद्धबाबा भने बिहीबार दिउँसो भारततिर लागेका छन् । सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ हिँंडेका हुन् । सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका हुन् ।

केही समर्थक र अयुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए । अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पारेका हुन् । जतिबेला उनी विरुद्धको मुद्दाको सुनुवाई अदालतमा जारी थियो ।
‘हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्डलाई सीमामा ओरालेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइयो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले भने, ‘उनी किन उता लागे भन्ने बारेमा यकिन भइसकेको छैन ।’ स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको स्रोतले बतायो । सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए । त्यसकै ‘फलोअप’का लागि फेरि गएको उनी निकट स्रोतले बतायो । उनी भारततर्फ जानुलाई अर्थपूर्ण रुपमा हेरिएका बेला अदालतको आदेश पनि उनी अनुकूल आएन । स्रोतकाअनुसार सुनुवाईपछि आउने अदालतको आदेशको पर्खाइमा उनी थिए । आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भारततिर ‘सुटुक्क’ लागेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर