गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन नेकपाका सांसदहरुको माग गरेका छन् । लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको छ । सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन् । मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न, किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने सांसदहरुको माग छ ।
प्रस्तावमा पूर्वसभामुख ओनसरी घर्तीमगर, जर्नादन शर्मा, पम्फा भुसाल, जयपुरी घर्ती, नवराज सिलवाल, गणेस ठगुन्नालगायतले समर्थन गरेका छन् । सन् १९७० को दशकमा भाँगो तथा गाँजामाथि प्रतिबन्ध लगाउन नेतृत्व गरेका अमेरिका, क्यानाडा, जर्मनी लगायतका देशले नै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको प्रस्तावमा उल्लेख छ । नेपालको भूबनोट गाँजा उत्पादनका लागि उर्वरभूमि भएकाले यसको वैधानिक उत्पादन र बिक्रीवितरणबाट मुलुकमा ठूलो विदेशी मुद्दा आर्जन हुने सांसदहरुको तर्क छ ।
अमेरिका, क्यानाडालगागत ६५ भन्दा बढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी आ–आफ्नो देशका किसानको आम्दानी वृद्धिका लागि खुला गरिसकेको प्रस्तावमा उल्लेख छ ।