कनकाई । युनिक बहुमुखी क्याम्पस सुरुङ्गामा नयाँ क्याम्पस सञ्चालक समिति गठन भएको छ । मातृका ढुंगानाले कार्यव्यस्तताका कारण अध्यक्ष पदबाट राजिनामा दिएपछि नयाँ सञ्चालक समिति गठन भएको हो । समितिको अध्यक्षमा तीर्थराज खरेललाई चयन गरिएको छ । २०४९ सालदेखि शिक्षाक्षेत्रमा क्रियाशील खरेल २०५९ सालदेखि स्थानीय कनकाई बहुमुखी क्याम्पसमा अंग्रेजी विभागमा उपप्राध्यापकका रुपमा कार्यरत थिए ।
१५ वर्षदेखि क्याम्पसमा निरन्तर कार्यरत प्राध्यापक संघका सभापति एवम् अंग्रेजी विभागाध्यक्ष उपप्राध्यापक हरिप्रसाद तिम्सिनालाई गत असोज १४ गतेदेखि कनकाई क्याम्पसले बिनाकारण अमानवीय ढंगबाट अवकाश दिएपछि कनकाई क्याम्पसमा विवाद शुरु भएको थियो । क्याम्पस प्रमुखको कार्यशैलीसँग असहमत हुँदै खरेल सो क्याम्पसबाट अलग भएका थिए । अहिलेकै अवस्था कायम रहने हो भने कनकाई क्याम्पसमा पढ्ने र पढाउने दुवै वातावरण नरहेको निष्कर्षमा पुगी खरेलले असन्तुष्ट बनी गत मंसिर ४ गतेदेखि उक्त क्याम्पसबाट स्वअवकाश लिएका थिए । त्यस पछि उनी स्थानीय युनिक क्याम्पसमा आबद्ध भएका थिए ।
अहिले पुनर्गठन गरिएको युनिकको क्याम्पस सञ्चालक समितिको उपाध्यक्षमा त्रिलोचन उप्रेती, सदस्यहरुमा युवराज अधिकारी, रमेश दाहाल, गुरुप्रसाद पौडेल, चम्पा खनाल ९सुवेदी०, टंकराज तिम्सिना, विष्णुकुमार रिजाल र धन्दीराज नेपाल रहेका छन् । समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख दीपक भट्टराई चयन भएका छन् । सञ्चालक समितिको बैठकले सहायक क्याम्पस प्रमुखमा युवराज अधिकारीलाई नियुक्त गरिएको अध्यक्ष खरेलले जानकारी दिए ।
त्यसै गरी क्याम्पस सञ्चालनमा आवश्यक सरसल्लाह दिनका लागि कनकाई नगर क्षेत्रका अग्रज शिक्षासेवी तथा समाजसेवीहरुलाई सल्लाहकार समितिमा चयन गरिएको छ । मञ्जु प्रसाईं, आशा शर्मा शिवाकोटी, ओमदेव शाही, एलपी उप्रेती, कुमारमणि पोखरेल, अखिलकुमार कोइराला र डीआर सुवेदी रहेको सल्लाहकार समिति चयन गरिएको क्याम्पस प्रमुख भट्टराईले बताए ।
अध्यक्षमा नियुक्त भएपछि खरेलले युनिक क्याम्पसलाई कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिका लगायतका सेवा क्षेत्रका अभिभावकको मन जित्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उच्च शैक्षिक संस्थाको रुपमा विकास गर्न क्रियाशील रहने प्रतिबद्धता जनाए । २०७४ सालदेखि निजी स्तरमा सञ्चालनमा आएको युनिक क्याम्पसमा हाल बीबीएस प्रथम, द्वितीय र तृतीय वर्षमा गरी १ सय ४० विद्यार्थी अध्ययनरत छन् ।