बिर्तामोड । सदस्य संख्याका हिसाबले झापाको चौथो ठुलो सहकारी सिम्रिक साकोसले शुक्रबार १९ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ ।
संस्थाको नवौँ वार्षिक साधारणसभाको उपलक्ष्यमा बिर्तामोडको आदर्श ब्यांक्वेटमा आयोजित भव्य समारोहका बीच प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले उनीहरुलाई सम्मानपत्र तथा नगद प्रदान गरे ।
सम्मानितहरुलाई संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले दोसल्ला ओडाएका थिए ।संस्थाले उत्कृष्ट पत्रकारका रुपमा कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराई, सामाजिक क्षेत्रतर्फ तारा नमस्ते बालग्रामकी यशोदा पोखरेल चापागाईं, सहकारी अधिकृत डिल्ली दाहाल तथा जिल्ला ट्राफिक प्रहरी प्रमुख होमप्रसाद अधिकारीलाई नगद र सम्मानपत्र प्रदान गरेको छ । सहकारी अभियान्ताहरु गणेश ढकाल र घनश्याम अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै, कर्मचारीतर्फ कृष्णप्रसाद कडरिया, इन्दिरा भट्टराई, वेदप्रसाद आचार्य, भानुदेवी रिजाल, गोकर्ण घिमिरे, सुकमाया राई र दुर्गा पौडेललाई पुरस्कृत गरिएको छ ।
संस्थाले गौरादह सेवाकन्द्रसहित तीनवटा महिला समूहलाई सम्मान गरेको छ भने रञ्जु मिश्र र नेत्र घिमिरेलाई उत्कृष्ट सदस्यका रुपमा पुरस्कृत गरेको छ । संस्थाका सचिव सुवास भट्टराईका अनुसार सामाजिक उत्तरदायित्वतर्फ बिर्तामोडको तारा नमस्ते बालग्राम र झापा नाटक घरलाई नगद ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । बिर्तामोडमा बहुसांस्कृतिक संग्राहलयसहित झापा नाटक घर निर्माणाधीन छ ।
संस्थाका अध्यक्ष कमलबहमदुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, जिल्ला सहकारी संघ झापाका सहसचिव भानु दंगाल, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य गणेश पोखरेल र सम्मानित व्याक्तित्व डिल्ली दाहाललगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव सुवास भट्टराई सञ्चालन गरेको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य इन्द्रबहादुर कार्कीले गरेका थिए ।