Aamsanchar

मन्त्री आङ्बोलाई विद्यार्थीले सुनाए योजना

Author Image
सोमवार, माघ २७, २०७६


सुरुङ्गा । प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो समक्ष झापाका विभिन्न कलेजमा अध्ययनरत् विद्यार्थीहरुले आफ्नो अध्ययनपछिको व्यावसायिक योजना सुनाएका छन् ।

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित युनिक बहुमुखी क्याम्पसको आयोजना, सिभिल बैंक लिमिटेडको मुख्य प्रायोजन र एक्सेल डेभलपमन्ट बैंक तथा अस्मिता पब्लिकेशनको सहप्रायोजनमा उक्त प्रतिष्पर्धात्मक कार्यक्रम भएको थियो । जिल्लाका व्यवस्थापन संकायअन्तर्गत स्नातक तहका विद्यार्थीहरुले व्यावसायिक योजना धारणा प्रस्तुतीकरणमा आफूले भविष्यमा गर्ने योजनाको बारेमा प्रष्टाएका हुन् ।

कार्यक्रममा १७ वटा कलेजबाट छनोट भएका उत्कृष्ट ५ कलेजका विद्यार्थीहरुले आफ्नो भावी योजनाको बारेमा बताएका थिए । सो योजना सार्वजनिकीकरणमा कम पोलिमरको प्लाष्टिकको प्रयोग गरी महिलाहरुले प्रयोग गर्ने सेनिटरी प्याड उद्योग संचालन गर्ने योजनासहितको आयोजक युनिक बहुमुखी क्याम्पस सुरुङ्गाको टिम सर्वोकृष्ट भई नगद २५ हजार रुपैँया जितेको थियो । विद्यार्थीहरुले महिलाहरुले महिनावारी हँुदा प्रयोग गरिने सेनेटरी प्याड अझै पनि विदेशबाट आयात भइरहेको र लागत मुल्यभन्दा ५ गुणा महँगो दरमा बिक्री समेत भइरहेको भन्दै विदेशबाट आयातित प्याडलाई विस्थापित गर्ने र कम मुल्यमा स्वदेशमै उत्पादित सेनेटरी प्याड उपलब्ध गराउने योजना विद्यार्थीले प्रस्तुत गरेका थिए । त्यसै गरी, मेची बहुमुखी क्याम्पस भद्रपुरका विद्यार्थीको आर्गनिक माछा र तरकारी फार्म गर्ने योजनाले उत्कृष्ट प्रस्तुतीकरणको उपाधि हात पारेको थियो । त्रिदेव क्याम्पस चारआलीका विद्यार्थीहरुले टुना टपरी उद्योग स्थापना गर्ने , गोमन्द्र बहुमुखी क्याम्पस विर्तामोडका विद्यार्थीले एजुकेशन एप्प उत्पादन र देवी क्याम्पस विर्तामोडका विद्यार्थीले च्याउ उद्योग संचालनको योजना प्रस्तुत गरेका थिए । सो प्रतिस्पर्धामा नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का संयोजक मीनप्रकाश मैनालीको संयोजकत्वमा एक्सल डेभलपमन्ट बैंकका कर्जा विभाग प्रमुख शिवकुमार गिरी र नेपाल बैंक लिमिटेड इलाम शाखाका प्रबन्धक कृष्णबहादुर नेपाल रहेको निर्णायक मण्डलले भूमिका खेलेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रबहादुर आङ्बो मौसमले हालको विद्यमान शिक्षा नीति र पाठ्यक्रम बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो मात्रै भएकोले अब सरकारको सबै ध्यान जीवनोपयोगी सीप र दक्ष जनशक्ति उत्पादनमा जोड दिने बताए । मन्त्री आङ्बोले नेपालबाट कम्तीमा घुम्न र उच्च शिक्षा बाहेकको रोजीरोटीका लागि काममा विदेश जानैपर्ने बाध्यताको अन्त्य हुन लागेको र यस अभियानमा बैंक तथा वित्तीय संस्था लगायत सबैसँग रचनात्मक साथ र सहयोग गर्न अनुरोध गरे ।

वक्ताहरुले अध्ययनपछि विद्यार्थीहरुको जागिरे मानसिकता बढिरहेकोले जागिर खानेभन्दा अरुलाई जागिर लगाउन सक्ने क्षमता बढाउन प्रेरक कार्यक्रमको आयोजना गरिएको भनी प्रशंसा गरेका थिए । कार्यक्रममा युनिक बहुमुखी क्याम्पसका सल्लाहकार अखिलकुमार कोइराला, एक्सल डेभलपमन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल, सिभिल बैँकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल, झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य माननीय झलकसिंह दर्लामी मगर ‘सन्देश’ लगायतले विद्यार्थीको योजनाले देशको समृद्धिको यात्राको खाका कोरेको बताए । कार्यक्रमको स्वागत युनिक कलेजका क्याम्पस प्रमुख दीपक भट्टराई र सञ्चालन क्याम्पस सञ्चालक समितिका सदस्य गुरुप्रसाद पौड्यालले गरेका थिए । सो अवसरमा उक्त प्रतिष्पर्धात्मक कार्यक्रमका परिकल्पनाकार एवम् कार्यक्रम संयोजक क्याम्पसका अर्थशास्त्र विषयका सहायक प्राध्यापक बिनोद तिम्सिनालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रम युनिक बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष तीर्थराज खरेलको अध्यक्षतामा भएको थियो । कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर