Aamsanchar

भ्रमण बर्ष मनाउन अर्जुनधारामा १२ स्थानमा महोत्सव आयोनाको तयारी

Author Image
शनिवार, फागुन ३, २०७६

अर्जुनधारा ।  नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा झापाको अर्जुनधारा कनगरपालिकाले ११ वटा फरक फरक कार्यक्रम हरु सार्वजनिक गरेको छ ।
नगरपालिकाले भ्रमण वर्षलाई सफल बनाउन वडास्तरबाटै विविध कार्यक्रम थालनीको तयारी गरेको शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पर्यटन बर्षलाई मनाउन र सो अवसरमा गाउँगाउँमा पर्यटन बर्षको महोल तयार पार्न र नगरको गतिविधिबारे जानकारी गराउँदै वडाबाट शुरु गरिने कार्यक्रमलाई नगरस्तरीय बनाएर अर्जुनधारा महोत्सव गर्न लागेको बताइएको थियो ।

वडास्तर कार्यक्रम योजना, पशु, कृषि, स्वास्थ्य लगायतका विषयगत शाखाबाट उपलब्ध हुने सेवाका बारेमा शिविरमार्फत जानकारी र सेवा दिइने नगरका प्रमुखप्रशासकीय अधिकृत पंकज भूर्तेलले बताए । उनका अनुसार वडास्तरीय कार्यक्रम गर्नका लागि प्रत्येक वडालाई नगद २ लाख रुपैयाँ खर्च विनियोजन गरिएको छ ।
नगर प्रमुख हरिकुमार रानाले नगरमा भएका पर्यटकीय स्थलसँगै धार्मिक स्थलका बारेमा थप जानकारी दिनका लागि महोत्सव गर्न लागिएको जानकारी दिए । उनले वडास्तरबाटै तयारी गरिँदा जनमानसमा पनि सकारात्मक सन्देश जाने भएकाले नगरले बृहत् योजनाबाट कार्यक्रम गर्न लागेको बताए । उनले नगरका ११ वटा वडामा आयोजना हुने वडास्तरीय कार्यक्रममा प्रत्येक दिन प्रदेश सरकारका मन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए ।

फागुन ४ गते ७ नम्बर वडा खेल मैदानबाट उद्घाटन गरिने वडास्तरीय कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की आउने निश्चित भएको छ । त्यसैगरी कार्यक्रम हुने मिति र स्थान हरुमा फागुन ५ गते वडा नं. १ मंगलबारे हटिया, ६ गते वडा नंं.२ जनता माध्यमिक विद्यालयको प्राङगण, ७ गते वडा नं. ३ प्राकृतिक खेल मैदान कैदले, ८ गते वडा नं.४ जेष्ठ नागरिक मिलनकेन्द्र, ९ र १० गते वडा नं. ५ को भानु मावीको खेल मैदान, त्यसैगरी ११ गते वड नं.६ द्वीपज्योती खेलमैदान, १२ गते वडा नं. ११ को महारानीगञ्ज मावी, १३ गते वडा नं. १० सेतीपानी सिंहदेवी प्रावी, १४ गते वडा नं.९ को खरबन्दी खेल मैदानमा हुने भएको छ ।

त्यसैगरी वडा स्तरिय महोत्सव अन्तरगत फागुन १५ गते वडा नं ८ स्थित शनिश्चरे मावीको प्राङगढमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुशियातको उपस्थितिमा कार्यक्रमको समापन हुनेछ । वडास्तर कार्यक्रममा खेलकुदका ९ विधा र भाषा, कला, साहित्य संस्कृतिका ८ वटा विधालाई समेटिएको छ । आसन्न राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरी विद्यालयस्तरका प्रतियोगितालाई पनि समेटिएको नगर प्रमुख रानाले बताए । ११ वटामा कार्यक्रम सम्पन्न गरेपछि फाइनल चरणका कार्यक्रम नगर महोत्सवमा प्रस्तुत गरिनेछ’, उनले भने ।

एक साताभन्दा लामो समयको नगर महोत्सवमा राष्ट्रियस्तरका कलाकारसमेत झिकाउने तयारी गरिएको छ । नगरले नेतृत्व लिएर सबै सरोकारवाला संघसंस्थासँग योजना बनाएर अर्जुनधारा महोत्सव सम्पन्न गर्ने नगर प्रमुख रानाले बताए । महोत्सवताका प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री र संघीय मन्त्रीलाई निम्त्याएर अर्जुनधाराको पर्यटकीयस्थलको अवलोकन गराई आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नु अर्को उद्देश्य रहेको पनि नगर प्रमुख रानाले जानकारी दिए ।
अर्जुनधारा नगरक्षेत्र स्थानिय मात्र नभएर राष्ट्रिय स्तरकै पर्यटकिय स्थलहरु रहेकोले महोत्सवको माध्ययमबाट प्रचार गरिने नगर उपप्रमुख कमला खतिवडाको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 344

प्रतिक्रिया (०)

सम्बन्धित खबर