दमौली। तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल ‘घाँसी बाजे’ को नामबाट परिचित हुनुहुन्छ । ७० वर्ष उमेर पूरा भइसक्नुभएका उहाँले घाँस खेतीबाटै दामसँगै नाम पनि कमाउनुभएको छ । उहाँलाई चिन्नेहरु तनहुँमा मात्रै होइनन्, देशभर छन् । उहाँलाई सबैले ‘घाँसी बाजे’ को नामबाट बोलाउने गर्दछन् ।खनालले घाँस बिक्रीबाटै वार्षिक लाखौँ आम्दानी गरिरहनुभएको छ । खनालले यो वर्ष करिब रु २५ लाखको घाँस बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । यो वर्षको वर्षायाममा खनालले  नौ- दश लाखको घाँस बिक्री गरिसक्नुभएको छ भने अझै रु. १५ लाखको घाँस बिक्री हुने क्रममा रहेको खनालले जानकारी दिनुभयो ।

“झण्डै रु दश लाखको घाँस बिक्री भइसक्यो, अझै रु १५ लाखको घाँस बिक्री हुने अनुमान छ”, खनालले भन्नुभयो, “घाँस किन्नका लागि तनहुँका विभिन्न ठाउँका अलवा, स्याङ्जा, सिन्धुली, गोरखाबाट पनि सम्पर्क गरिरहेका छन् ।” खनालले गत जेठ महिनामा सल्यानबाट बीउ ल्याएर रोप्नुभएको सुपर नेपियरको बेर्ना मात्रै रु पाँच लाखको बिक्री गरिसक्नुभएको छ । खनालका अनुसार सुपर नेपियरको बेर्ना दुई वटा आख्लाको रु १० मा बिक्री भइरहेको छ ।विसं २०५४ देखि घाँसखेती शुरु गर्नुभएका उहाँ बिहानै ७ बजेदेखि साँझ ६-७ बजेसम्म बारीमै काम गरिरहेको अवस्थामा भेटिनुहुन्छ ।

घाँसखेतीबाटै खनालले दामसँगै नाम पनि कमाउन सफल हुनुभएको छ । कुनै समय वर्षभरिको कमाइले चार महिना पनि खानलाई धौ–धौ पर्ने खनालको आफ्नो सम्पत्तिको नाउँमा ३८ रोपनी पाखो जग्गा थियो । थप ३२ रोपनी जग्गा भाडामा लिएर कूल ७० रोपनी क्षेत्रफलमा खनालले घाँसखेती गर्नुभएको छ ।

अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुर, डोटी, कास्की, चितवन, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दीलगायतका ठाउँका कृषकले खनालले उत्पादन गरेको घाँस विस्तार गरिसकेका छन् । खनालले ७० रोपनी क्षेत्रफलमा राइखनियो, बडहर, बकाइनो, टाकी, कोइरालो, चिउरी, सियोफोर, सम्बा सेटारिया, पास पालम, पलाटोलगायतका घाँसखेती गरिरहनुभएको छ ।

भाडामा लिइएको ३२ रोपनी जग्गामध्ये खेतको प्रतिरोपनी रु तीन हजार र पाखो बारीको प्रतिरोपनी रु दुई हजार वार्षिक भाडा तिर्ने खनालले बताउनुभयो ।खनालले घाँसखेतीबाट आम्दानी भएको रकमले भ्यानसमेत खरिद गर्नुभएको छ । पोखरा, बागलुङ, स्याङ्जालगायतका ठाउँबाट घाँसको माग भएको बेला ढुवानीको समेत व्यवस्था मिलाइएको छ । खनालले भन्नुभयो, “देशमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा मैले छोरालाई समेत यही व्यवसायमा सहभागी गराएको छु, आफ्नै ठाउँमा पौरख गरे विदेशिनुपर्दैन ।”

जिल्ला पशुसेवा कार्यालय तनहुँका तत्कालीन पशुसेवा प्राविधिक रेवतराज शाहको परामर्श र सहयोगमा विसं २०५४ सालमा पशुसेवा फर्म पोखरामा एक हप्ते तालीममा भाग लिने अवसर पाएपछि खनाल आफ्नो खाली पाखोलाई घाँसे बगैँचाको रुपमा परिणत गर्ने प्रतिबद्धताका साथ लागि पर्नुभएको थियो ।

एक हप्ते घाँस बाली तालीमबाट घर फर्कदा तीन वटा नेपियरको बेर्ना ल्याई घाँसखेती शुरु गर्नुभएका उहाँको पाखो बारी अहिले हरियाली नर्सरीको रुपमा परिणत भएको छ ।जिल्ला पशुसेवा कार्यालय तनहुँले खनाललाई तालीममा सहभागी छनोट गरी पशु सेवा फार्म पोखरा पठाउनाले र उहाँको आफ्नै अथक मेहनत र परिश्रमले गर्दा उहाँ आज जिल्लामा मात्रै नभई देशभर प्रख्यात हुनुभएको छ ।